काठमाडौं । चिनियाँ प्रिमियम न्यू इनर्जी भेहिकल कम्पनी जिकरको सम्पूर्ण स्वामित्व जिली अटोले खरिद गरेको छ । यसअघि जिकरमा ६५.७ प्रतिशत हिस्सा जिली अटो ग्रुपसँग थियो ।
जिकरको सम्पूर्ण शेयर खरिदपछि अब जिलीको नियन्त्रणमा जिकर अगाडि बढ्ने छ । जिकर इन्टेलिजेन्ट टेक्नोलोजी नाममा ‘न्यू योर्क स्टक एक्सचेन्ज’मा सूचीकृत जिकर निजीकरण गरेपछि ‘एनवाईएसई’बाट डिलिस्टेड भएको हो ।
अमेरिकी लगानीकर्ताले जिकरको प्रत्येक शेयरको बदलामा २.६८७ डलर नगद र १.२३ संख्यामा जिलीको शेयर पाएका छन् । सन् २०२४ को मेमा न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टेड हुँदा जिकरको ओपनिङ ९ डलर र पछि बढेर १३ डलरसम्म पुगेको थियो ।
जिलीले जिकरको पूर्ण स्वामित्व आफूसँग ल्याएपछि रिसर्च एण्ड डेभलपमेन्टमा भइरहेको दोहोरो खर्च र काम घट्ने जनाएको छ । अब जिलीको एउटै आर्किटेक्चरमा जिकरका कार उत्पादन हुनेछन् ।
जिलीका अनुसार पूर्ण स्वामित्व लिएपछि १० देखि २० प्रतिशत डेभलपमेन्ट खर्च र ५ देखि ८ प्रतिशत प्रकुर्मेन्ट खर्च बचत हुने बताएको छ । जिकर खरिदसँगै जिलीले ३०० वटा शोरुम मर्ज गर्ने र युरोपियन बजारमा भल्भोको आफ्टर सेल्स सर्भिसको प्रयोग गर्ने जनाएको छ ।
जिली ग्रुप अटो ग्रुपसँग अब जिली, जिली ग्यालेक्सी, जिली रेडारा, जिकर र लिङ्क एण्ड को जस्ता ब्राण्ड छन् । नेपाली बजारमा भने जिलीका धेरै उत्पादन जिली ग्यालेक्सी, रेडारा र जिकर उपलब्ध भएपनि बिक्रेता फरक फरक छन् ।

