काठमाडौं । भियतनामको न्यू इनर्जी भेहिकल ब्राण्ड भिनफास्टले भारतमा दुई मोडल बनाउने भएको छ । कम्पनीले २०२६ मा बजारमा ल्याउनेगरी लिमो ग्रिन र भीएफ थ्री मोडल तयार पारिरहेको हो ।
कम्पनीले ल्याउने यी दुई मोडल बिल्कुलै फरक स्पेकमा आउने छन् । लिमो ग्रिन मोडल थ्री रो सिटिङमा हुनेछ । यसलाई ७ सिटर बनाउन सकिनेछ । भीएफ थ्री भने माइक्रो एसयूभी डिजाइनमा आउने ४ सिट क्षमताको मोडल हुनेछ ।
भारतमा प्लान्ट स्थापना गरेर बिक्री सुरु गरेको भिनफास्टले यी दुबै मोडल भारतमै उत्पादन गर्ने जनाएको छ । कम्पनीका यी दुई मोडल भारतमा बिक्री सुरु भएपछि नेपाल पनि आउन सक्नेछन् ।
लिमो ग्रिन मोडलमा ६० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसमा मोटर भने १५० किलोवाटको प्रयोग हुन्छ । सिंगल चार्जमा ४६० किलोमिटर हाराहारी रेन्ज आउने दावी गरिएको लिमो ग्रिन ‘मिनिमल अप्रोच’मा तयार हुने एसयूभी हो ।
भिनफास्टले ल्याउने भीएफ थ्री माइक्रो एसयूभी भने डिजाइनको हिसाबले रोचक हुनेछ । यसमा १९१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र १८.६ किलोवाट आवरको ब्याट्री प्रयोग हुनेछ ।
कम्पनीले ३० किलोवाटको इलेक्ट्रीक मोटर दिएर ल्याउने नयाँ माइक्रो एसयूभी ईभी बजारकै लागि नयाँ डिजाइन हुनेछ ।

