होन्डा ग्राजियालाई टीभीएस एनटर्कको धक्का, भारतमा ६३% ले घट्यो बिक्री

काठमाडौं । होन्डा कम्पनीको चर्चित स्कुटर ग्राजियाको बिक्रीमा लगातार गिरावट आइरहेको छ ।  

कम्पनीले गतवर्षको जनवरीमा २२ हजार ६५७ युनिट ग्राजिया स्कुटरको बिक्री गरेको थियो भने यो जनवरीमा मात्रै ८ हजार ३६८ यूनिटमा खुम्चीएको छ । अघिल्लो वर्षको तुलना ग्राजियाको व्यापारमा ६३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले २०१७ बाट ग्राजियाको बिक्री–वितरण सुरु गरेको हो ।

सुरुवाती ६ देखि ८ महिनामा कम्पनीले निकै राम्रो व्यापार गरेको थियो । गत फेब्रुअरीमा टीभीएसले एनटर्क–१२५ सार्वजनिक गरेसँगै ग्राजियाको व्यापारमा गिरावट आएको हो । 

सुरुवाती चरणमा टीभीएस एनटर्क र ग्राजियाको प्रतिस्पर्धा समानरुपमा अगाडि बढेको देखिएको थियो । बीचमा सुजुकी वर्गम्यान स्ट्रीट बजारमा आएसँगै ग्राजियाको ब्यापार झन् खस्किन गएको हो । 

२०१८ मा होन्डाले १ लाख ९१ हजार ५ सय ४३ युनिट ग्राजिया बिक्री गरेको थियो भने टीभीएसले सार्वजनिक भएको मितिदेखि फेब्रुअरीसम्म १ लाख ८२ हजार ८५ युनिट एनटर्क बिक्री गरेको छ । एनटर्कमा इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्सन र नेभिगेसनको विशेषता दिएको छ ।

ग्राजियामा १२४.७९ सीसी इन्जिन दिइएको छ । जसले ७ हजार ५ सय आरपीएममा ९.४ पीएस पावरकासाथै ५५ सय आरपीएममा १०.५ एनएम–टर्क उत्पादन गर्छ । 

एनटर्क स्कुटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले बढीमा ९.३ ब्रेक हर्सपावर शक्ति उत्पादन र १०.५ एनएम–टर्क जेनेरेट गर्छ । यसको टपस्पीड ९५ किलोमिटर रहेको छ भने शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन, यसले नौ सेकेन्डमै समात्न सक्ने कम्पनीको दाबी छ ।

माइलेजको विषयमा समेत दुबै स्कुटरको समानता झल्झिएको छ । ग्राजिया स्कुटरमा एलईडी हेडल्याम्प, डल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका विशेषता दिइएको हो । 

एनटर्कले प्रतिलिटर ४७ किलोमिटरसम्मको माइलेज दिने गर्छ भने ग्राजियालाई प्रतिलिटर ४६.७ प्रतिलिटर किलोमिटरसम्म चलाउन सकिन्छ । नेपाली बजारमा समेत बिक्री–वितरण हुँदैआएको होन्डा ग्राजियाको मूल्य २ लाख १८ हजार रहेको छ भने टीभीएस एनटर्कको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top