काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका मुख्य क्षेत्रभरी सीसीटिभी जडान गर्ने भएको छ । महानगरपालिकाले नेपाल प्रहरीसँग समन्वयन गरी सीसीटिभी जडान गर्ने कामलाई तिब्रता दिन लागेको हो ।
महानगरका प्रवक्ता इश्वरमान डंगोलका अनुसार काठमाडौंका मुख्य–मुख्य सडकहरुमा सीसीटिभी जडान गर्न लागिएको हो । उनले ३ करोड लगानीमा पहिलो चरणमा काठमाडौंका मुख्य सडकहरुमा १ हजारवटा सीसीटिभी जडान गर्न लागिएको जानकारी दिए ।
नेपाल प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी उत्तम सुवेदीले यो चालु आर्थिक वर्षभित्र मुख्य–मुख्य सडकहरुमा सीसीटिभी जडान गर्नेे काम सम्पन्न गरिने गरी काम अघि बढाइएको बताए ।
उनले सीसीटिभी जडानका लागि आवश्यक प्रकृया अघि बढी रहेको जानकारी दिए ।
पुरै काठमाडौं महानगरभीत्र सीसीटिभी जडान गर्न २१ हजार सीसीटिभी आवश्यक पर्ने हुन्छ । तर, हाल बजेट अनुसार काम गर्नुपर्ने भएकाले पुरानोसहित गरेर एक हजार सीसीटिभी मात्र जडान गर्न सम्भवन हुने उनले बताए ।
हाल पुरानो प्रयोगमा नआएका सीसीटिभी ३ सय वटा रहेका छन् भने त्यसमा ७ सयवटा थप गरेर जडान गर्न लागिएको हो ।
‘हामीले आधुनिक सीसीटिभी जडान गर्ने तयारी गरिरहेका छौँ, बजेटले पुगेसम्म सबैतिर सिसिटिभि जडान गर्ने छौँ,’ सुवेदीले मेरोअटोसँग भने ।
सीसीटिभी क्यामराले खिचेको भिडियो तत्काल सम्बन्धीत ठाउँमा पुग्ने गरी सिस्टम जडान हुने उनले जानकारी दिए ।

