काठमाडौं । विकसित देशहरूले सडक पूर्वाधर निर्माणमा ठूलो फड्को मारेका छन् । सडकको दुरी छोट्याउन, निर्वाध रूपमा सवारी साधन संचालन गरी जाम कम गर्न, इन्धन बचत गर्न सुरुङमार्ग, फ्लाइओभर, ओपरपास, अण्डर पास, भायडक्ट पुल जस्ता आधुनिक सडक पूर्वाधार निर्माण गरेका छन् ।
ती आधुनिक पूर्वाधार संरचनाले सवारी साधनको गति मात्र नभई देशको अर्थतन्त्रकै गति बढाउन महत्वपूर्ण भूमिका खेल्छन् । साथै, सडकको सौन्दर्य समेत बढाउँछ ।
ढिलै भए पनि नेपालमा पनि आधुनिक सडक पूर्वाधार निर्माण थालिएको छ । हाल नेपालमा सुरुङमार्ग, फ्लाइओभर, ओभरपास र अण्डरपास जस्ता संरचना निर्माण भइरहेका छन् । यी संरचनाले नेपालको सडक पूर्वाधारमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।
चीन सरकारको सहयोगमा ७ वर्षअघि नेपालमै पहिलोपटक कलंकीमा अण्डरपास निर्माण गरिएको थियो । हाल नागढुंगा-नौबिसे, सिद्धबाबा र काठमाडौं-तराई/मधेश द्रुतमार्गमा गरी ६ वटा सुरुङ निर्माणधीन छन् । दु्रतमार्गमै थप ३ वटा सुरुङ निर्माणको तयारीमा छन् । साथै, देशभर १ दर्जनबढी सुरुङ बनाउने योजना अघि सारिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा नेपालमै पहिलोपटक एकैपटक फ्लाइओभर र ओभरपास निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । काठमाडौंको बलम्बु फ्लाइओभर र ललितपुरको ग्वार्कोचोकमा ओभरपास निर्माण अन्तिम चरणमा पुगेका हुन् । दुवै पूर्वाधार यही जेठ महिना भित्रै निर्माण सम्पन्न हुँदै छन् ।
बलम्बु फ्लाइओभरमा रङरोगन गर्न मात्र बाँकी
नागढुंगा-नौबिसे सुरुङमार्गतर्फ जानका लागि बलम्बु चोकमा फ्लाइओभर निर्माण भइरहेको छ । मूल सडकको बीचबाट सुरुङमार्गको प्रवेशद्धारतर्फ जान घुमाउरो डिजाइनको फ्लाइओभर निर्माण लगभग सकिएको हो ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बलम्बु फ्लाइओभर कालोपत्रको काम सकिएको बताए । अब फ्लाइओभरमा रेलिङ राख्ने र रङरोगन गर्ने काम माब बाँकी रहेको उनले बताए ।
‘फ्लाइओभर निर्माण ९९ प्रतिशत काम सम्पन्न भइसक्यो । सम्पूर्ण संरचना निर्माणसँगै कालोपत्र पनि पूरा भइसक्यो,’ उनले मेरोअटोसँग भने, ‘फ्लाइओभरमा रेलिङ राख्ने काम जारी छ । अब थोरै मात्र रेलिङ राख्न र रङरोगनको काम मात्र बाँकी छ ।’
बलम्बु फ्लाइओभर निर्माण सम्पन्न भए पनि तत्कालै संचालनमा भने आउने छैन । नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न भएपछि फ्लाइओभर र सुरुङ एकैपटक संचालनमा ल्याइने पन्थीले बताए ।
यो फलाइओभरले नागढुंगा सुरुङमार्गको पहुँचमार्गलाई कलंकी-नागढुंगा सडकसँग जोड्छ । पन्थीका अनुसार फ्लाइओभर १२८ मिटर लामो छ । कलंकीतर्फको मूल सडकबाट फ्लाइओभरसम्म जोड्न १०० मिटर लामो र्याम्प बनाइएको छ । त्यस्तै, पहुँचमार्गतर्फ १३५ मिटरको र्याम्प बनाइएको छ ।
ग्वार्को ओभरपासमा जेठभित्रै गाडी गुड्ने
चक्रपथको ग्वार्कोचोकमा ५४० मिटर लामो ओभरपास (पुल र र्याम्पसहित) निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म फ्लाइओभर निर्माणको ८५ प्रतिशत बढी काम सकिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ओभरपासको भौतिक पूर्वाधार निर्माणको मुख्य काम सकिएको छ । हाल बालकुमारीतर्फको भागमा कालोपत्र भइरहेको छ भने सातोदोबाटोतर्फ पनि गर्ने तयारी छ । मौसमले साथै दिएमा यसै सात्राभित्र कालोपत्र सम्पन्न हुने हुने बताइएको छ ।

ग्वार्को ओपभरपास इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गरिएको हो । यो मोडलमा डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेकेदार कम्पनीले नै गर्छ । ग्वार्को ओभरपास निर्माणको ठेक्का आरसी/समानान्तर/रेलिग्रे जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँ पाएको छ ।
माघ २०७८ मा ठेक्का स्म्झौता भएको यो आयोजना २०७९ पुस २३ गतेबाट निर्माण थालिएको थियो । निर्माण थालिएको १३ महिनामा डिजाइनमा समस्या देखिएपछि काम रोकेर रिडिजाइन गरी पुनः काम अघि बढाइएको थियो । त्यसपछि पनि निर्माण गरिएको ४० मिटर र्याम्पमा समस्या देखिएपछि गत पुसमा फेरि काम रोकिएको थियो । र्याम्प भत्काएर पुनः निर्माण गरिएको ओभरपास अहिले अन्तिम चरणमा पुगेको हो ।
सुरू सम्झौता अनुसार २०८० फागुन १२ भित्र सम्पन्न हुनुपर्थ्यो । अन्तिमपटक थपिएको म्याद २०८१ पुस ९ गते सकिएको थियो । पुस १० देखि कम्पनीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिरेर काम गरिरहेको छ ।
ग्वार्को ओभरपासको कुल लम्बाइ ५४० मिटर लामो छ । जसमा ३५ मिटर लामो पुल र ५०५ मिटर लामो र्याम्प छ । ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ ।
आयोजनाको काम जेठ तेस्रो साता भित्रै भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । सरकारले उक्त ओभरपास जेठभित्रै संचालनमा ल्याउने बताएको छ ।
आइतबार स्थलगत अनुगमनमा गएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ओभरपासमा गाडी सञ्चालन हुने बताए ।

