प्रधानमन्त्री फास्ट ट्रयाक निरीक्षणमा, ‘रेखांकन र जेरोबिन्दु परिवर्तन गर्न तयार हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को स्थलगत निरीक्षण गरेकी छिन् ।

उनी मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई, रक्षामन्त्री बालानन्द शर्मा, प्रधानसेनापति अशोकराज सिग्देल लगायतको टोलिसहित स्थलगत निरीक्षणमा गएकी हुन् ।

निरीक्षणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको अहिलेसम्मको कार्य प्रगति, चुनौती लगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्कीले फास्ट ट्रयाक निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिएकी छिन् ।

उनले सडक पूर्वाधार लगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिँदै आवश्यक परेको खण्डमा रेखांकन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने बताइन् ।

फास्ट ट्रयाक निरीक्षणपछि ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयको सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिएकी छिन् ।

६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ देखि निर्माण थालिएको द्रुतमार्गको प्रगति निकै सुस्त छ । हालसम्म आयोजनाको भौतिक प्रगति ४५.१३ प्रतिशत पुगेको छ ।

कुल ७०.९७७ किलोमिटर लामो यो सडकलाई ११ प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । १० प्याकेजमा ठेक्का लागी काम भइरहे पनि प्रस्थान बिन्दु खोकना खण्डको ठेक्का लाग्न सकेको छैन ।

स्थानीयले धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै फास्ट ट्रयाको प्रस्थान बिन्दु सार्न माग गर्दै आएका छन् । सरकारले उक्त विवाद सुल्झाउन नसक्दा हालसम्म ठेक्का लागन नसकेको हो ।

फास्ट ट्रयाकमा १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ र १२.८८५ किमी लम्बाइका ८९ वटा पुल निमार्ण भइरहेका छन् । तीमध्ये २ वटा सुरुङ ब्रेक थ्रु भइसकेको छ । ८२ मिटर अग्लोसहित विशेष प्रकृतिका १३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ ।

यस आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । यसको पछिल्लो पटक थपिएको म्याद २०८३ चैत मसान्तसम्म छ ।

यो काठमाडौं उपत्यकालाई मध्यतराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौं ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा देशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा छ ।


Back_to_top