काठमाडौं । काठमाडौं उपत्यकामा एकाबिहानै मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने गरेको पाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयले मंगलबार बिहान उपत्यकाका विभिन्न स्थानमा गरेको सरप्राइज चेकिङको क्रममा यस्तो पाइएको हो ।
कार्यालयका अनुसार आज गरिएको सरप्राइज चेकिङमा ९३ जना सवारी चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमा मदिरा पिएर सवारी साधन चलाउने १५ जना चालकहरू कारबाहीमा परेका हुन् ।
जसमा सार्वजनिक सवारी साधन चलाउने ११ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र वृत्तहरूमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरूमा बस चालक ६ जना, स्कुल बस चालक २ जना, हाइस माइक्रो चालक २ जना, जेसीबी चालक १ जना रहेका छन् ।
ट्राफिकले सार्वजनिक सवारी साधन, पानी ट्याङ्कर, फोहोर बोक्ने सवारी साधन, एम्बुलेन्स र स्कुल बसलाई लक्षित गरी चेकिङ गरेको थियो ।

