झण्डै ४ वर्षपछि फर्कियो ‘रेनो डस्टर’, के छन् खास फिचर ?

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतमा बनाउँदै आएको एसयूभी डस्टर सन् २०२२ मा बन्द गरेको थियो । फेब्रुअरी २०२२ मा उत्पादन भएको डस्टर झण्डै ४ वषपछि आज भारतमा सार्वजनिक भएको हो ।

रेनोको निकै सफल एसयूभी डस्टर नेपाली बजारमा पनि निकै राम्रो संख्यामा बिक्री भएको थियो । तर, भारतमा उत्पादन रोकेसँगै नेपालमा पनि यसको आयात बन्द भयो । अब फेरी भारतमा लन्च हुने भएसँगै नेपाल आउने सम्भावना उत्तिकै छ ।

रेनोका उत्पादन नेपाली बजारमा एड्भान्स अटोमोबाइल्स प्रालिले आधिकारीक रुपमा आयात गर्दै आएको छ । रेनोको सम्पूर्ण सेटअप, सर्भिस सेन्टर र उपत्यका बाहिर डिलर नेटवर्क भएकै कारण नयाँ जेनेरेशन डस्टर एसयूभी नेपाल आउने सम्भावना देखिन्छ ।

आज भारतीय बजारमा सार्वजनिक भएको डस्टर नेपाल आउने हुँदा पनि करिब ४/५ महिना लाग्न सक्छ । त्यसैले नयाँ जेनेरेशन डस्टरमा रहेका मुख्य कुरालाई हामीले यहाँ चर्चा गरेका छौं ।

पहिलो विषय यसको बाहिरी डिजाइनमा ल्याइएको परिमार्जन हो । रेनोले बिल्कुलै नयाँ डिजाइन दिएर यसलाई तयार पारेको छ । अगाडिको बम्परभन्दा माथि दिइएको एयरड्याम, एयरड्यामको दुई साइटमा प्रयोग गरिएको फगल्याम्प निकै स्मार्ट लाग्छ ।

अगाडि प्रयोग भएको एलइडी डे टाइम रनिङ लाइट र पछाडि पनि एलइडी टेल ल्याम्प पाउन सकिन्छ । फ्रन्ट ग्रिलको माथिल्लो भागमा प्रयोग भएको ‘रेनो’को अंग्रजी लेटर, अगाडि र पछाडि नै दिइएको चंकी बम्परले मोर्डन लुक्स प्रदान गरेको छ ।

गाडीमा प्रसस्तै एजहरुको प्रयोग गरेको देखिन्छ । साथै, १७ र १८ इन्चको भेरियन्ट अनुसार फरक ह्वील र बाक्लो बडी क्लाडिङले डस्टरको बाहिरी लुक्सलाई अब्बल बनाएको देखिन्छ ।

गाडी बाहिरबाट हेर्दा राम्रो लागेर मात्रै पनि किन्ने भन्ने हुँदैन । यसको इन्टेरियर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । रेनोले यसको क्याविनलाई प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । सफ्ट टच मेटेरियलबाट बनेको ड्यासबोर्ड, लेदर सिट जस्ता कारण नयाँ डूटर निकै राम्रो लाग्छ ।

फुल डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, ड्यासबोर्डको बीचमा ठड्याइएको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पानारोमिक शनरुफ, भ्यान्टिलेटेड फ्रन्ट सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोलको सुविधा दिइएको छ ।

सुरक्षाको लागि गाडीमा एयरब्यागको अलवा एडास भित्रका ढेड दर्जन फिचर पाउन सकिन्छ । ३६० डिग्री क्यामेरादेखि एडाप्टीभ क्रुज कन्ट्रोलसम्म पाउन सकिन्छ ।

भारतमा प्रि-बुकिङ खुल्ला भएको नयाँ डस्टरमा १.० लिटर टर्बो पेट्रोल, १.३ लिटर टर्बो पेट्रोल र १.८ लिटर टर्बो इन्जिनसँग स्ट्रङ हाइब्रिड टेक्नोलोजी उपलब्ध हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार १.० लिटर इन्जिनसँग कुनै किसिमको हाइब्रिड टेक्नोलोजी हुनेछैन । १.३ लिटर इन्जिनसँग भने माइल्ड हाइब्रिड टेक्नोलोजी हुनेछ । स्ट्रङ हाइब्रिड मोडलले भने मारुती सुजुकी ग्राण्ड भिटाराको हाइब्रिडलाई टक्कर दिनेछ ।

१.३ लिटर टर्बो इन्जिनसँग म्यानुअल र अटोमेटीक दुबै गियरबक्स अप्सनको रुपमा आउने छ । तर, १.० लिटर इन्जिन भने म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुन्छ ।

सबैभन्दा ठूलो १.८ लिटर इन्जिनमा भने ८ स्पीड डिएचटी गियरबक्स हुनेछ । यसको इन्जिनले प्रदान गर्ने पावरको विषय भने खुलाइएको छैन ।

१.० लिटर इन्जिनले अधिकतम १०० पीएस पावर र १६० न्यूटन मिटर टर्क प्रदान गर्छ । जबकी १.३ लिटर इन्जिनले १६० पीएस पावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ ।


Back_to_top