काठमाडौं । भारतमा हार्ले डेभिड्सन आफ्नो नेटवर्क बन्द गरे पश्चात् हिरोसँग सहकार्य सुरु गरेको थियो । दुई कम्पनीको सहकार्य भएसँगै भारतमा हिरोले हार्लेको विक्री वितरण तथा सर्भिसको काम गर्दै आएको हो ।
यी दुई कम्पनी बीचको सहकार्य हिरोको प्रिमियम मोटरसाइकल उत्पादनको लागि हार्ले डेभिड्सनले सहयोग गर्ने र हार्लेको इन्ट्री लेवल मोटरसाइकल निर्माणमा हिरोले सहयोग गर्नेछ ।
दुबै कम्पनीको सहकार्यमा हिरोले नयाँ मोटरसाइकल २०२४ मा सावर्जनिक गर्ने तयारी थालेको छ । कम्पनीले ३५० सीसी सेग्मेन्टमा ल्याउने मोटरसाइकल निर्माणको क्रममा रहेको छ । हार्ले–हिरोको सहकार्यमा आउने ३५० सीसी मोटरसाइकलले रोयल इनफिल्ड मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
हिरोको नयाँ मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर आएको छैन । तर, नयाँ मोटरसाइकल रेट्रो डिजाइनमा हुने अनुमान गरिएको छ । यो मोटरसाइकल हार्लेको ब्रान्डमा आउने छ भने हार्लेको नेटवर्कबाट नै विक्री वितरण गरिनेछ ।
यो मोटरसाइकल मार्च २०२४ मा भारतीय बजारमा सार्वजनिक हुने बताइएको छ । नयाँ मोटरसाइकल सार्वजनिक भए पश्चात् यसले यज्दी, रोयल इनफिल्ड, क्यूजे, किवे, होन्डाजस्ता ब्राण्डका उत्पादनमा मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हार्लेले स्ट्रीट ७५० र स्ट्रीट रड ७५० भारतीय बजारमा नै उत्पादन गरेको थियो । केही समय अगाडि यी दुबै मोटरसाइकलको उत्पादन बन्द भएको थियो । नेपालमा पनि हार्लेका उत्पादन विक्री भएपनि अहिले बन्द भइसकेको छ ।


