हार्ले डेभिडसनले एसियाली बजारलाई २५० सीसीको सस्तो बाइक बनाउने

चर्चित टु ह्वीलर निर्माता कम्पनी हार्ले डेभिडसनले एसियाली बजारलाई केन्द्रमा राखेर इन्ट्री लेभल सेग्मेन्टको बाइक ल्याउने तयारी सुरुगरेको छ ।  कम्पनीले  २०१८को सुरुवातबाटै ‘मोर रोड टु हार्ले डेभिसन’ नामक नयाँ योजना सार्वजनिक गर्दै इन्ट्री लेवल बाइक बनाउने तयारी गरेको हो । 

सडकमा धेरै भन्दा धेरै हार्ले डेभिडसनको बाइक बनाउने योजनासहित बजार बिस्तारमा आक्रमकरुपमा आउन लागेको कम्पनीले भारतीय बजारलाई केन्द्रमा राख्ने देखिएको छ । 

कम्पनीले यस योजनामा नयाँ उत्पादन, पहुँच तथा डिलर नेटवर्क विस्तारलाई विशेष प्राथमिकतामा राख्ने जनाएको छ । कम्पनीको सबैभन्दा सस्तो बाइक भनिएपनि अहिलेसम्म यसको मूल्यलगायतका विषयमा कुनै कुरा सार्वजनिक गरिएको छैन ।  

क्रुजर बाइकको अलवा हार्ले डेभिडसनले सस्तो मूल्य, पावरफुल बाइक, राइडिङ स्टायलजस्ता नयाँ अबधारण ल्याई बजार बिस्तारमा केन्द्रित हुने तयारी गरिरहेको छ ।

अब कम्पनीले २५० देखि ५०० सीसी क्षमतासम्मका उत्पादनमा जोड दिने योजना बनाएको कम्पनीले एसियाली बजारमा अन्य टु ह्वीलर कम्पनीसँग सहकार्य गर्ने योजना बनाएको छ । तर, अहिल्यै कुन कम्पनीसँग सहकार्य गर्ने भन्नेबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यसअघि भारतीय बजारमा प्रबेशगर्न बिएमडब्ल्यु मोटोरार्डले टीभीएस इन्डियाको प्लान्टसँग सहकार्य गरेर मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हार्लेले पनि सोही तरिका अपनाउने आँकलन गरिएको छ । 

कम्पनीले अगाडि सारेको २५० सीसी इन्जिन क्षमताको मोटरसाइकलमा सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिने अनुमान गरिएको छ । यसको चेसिस बोल्ट अन सब फ्रेममा आउने र यहि अवधारणामा निर्माण भएका अन्य रेञ्जका मोटरसाइकल निर्माण गरिने आँकलन गरिएको छ । 

मिनिमल लुक्समा निर्माण गरिने २५० सीसीको बाइकले एसियाली बजारमा राम्रो बजार हिस्सा ओगट्ने कम्पनीले विस्वास लिएको जनाएको छ ।

तस्बिरः रेन्डर इमेज हो ।  


Back_to_top