हार्ले डेभिड्सन आइरन ८८३ लाई टक्कर दिन यामाहा बोल्ट आउने, मूल्य १० लाख फरक

काठमाडौं । नेपाली बजारमा यामाहाले पहिलो क्रुजर मोटरसाइकल भित्र्याउने भएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्युले बोल्ड ९५० नेपाल भित्र्याउने तयारी गरेको छ ।

यो मोटरसाइकल सेग्मेन्टमा नेपाली बजारमा हार्ले डेभिड्सनको मोटरसाइकल उपलब्ध रहेको छ । हार्लेका मोटरसाइकल नेपाली बजारमा आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभले विक्री गर्दै आएको छ ।

यामाहा बोल्टले नेपाली बजारमा हार्ले आइरन ८८३ सँग सिधा प्रतिस्पर्धा गर्नेछ । अन्य बजारमा भने यसको प्रतिस्पर्धा होन्डा रिवेलसँग भइरहेको छ ।

हार्ले डेभिड्सनमा ८८३ सीसी डबल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ३५०० आरपीएममा ६८ एनएम टर्क उत्पादन गर्छ भने ५५०० आरपीएममा ५०.६ पीएस पावर जेनेरेट गर्छ ।

त्यस्तै यामाहा बोल्टमा ९४१ सीसी डबल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ३००० आरपीएममा ८० एनएम टर्क उत्पादन गर्छ भने ५५०० आरपीएममा ५४ पीएस पावर जेनेरेट गर्छ । पावरमा यामाहा बोल्ट अगाडि रहेको छ ।

हार्ले आइरन ८८३ को लम्वाई २१८५ एमएम, चौडाई ८२० एमएम, उचाई ११२० एमएम र ह्वीलबेस १५१५ एमएम रहेको छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स १४० एमएम रहेको छ भने, यसमा १२.५ लिटरको इन्धन ट्यांकी लगाइएको छ ।

यामाहा बोल्टकोे लम्वाई २२९० एमएम, चौडाई ८३० एमएम, उचाई ११२० एमएम रह्विलबेस १५७० एमएम रहेको छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ भने, यसमा १२ लिटरको इन्धन ट्यांकी लगाइएको छ ।

हार्लेको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने, एबीएस पनि उपलब्ध रहेको छ । यसमा सेमी डिजिटल कन्सोल दिइएको छ भने रेट्रो डिजाइन हेडल्याम्प दिइएको छ । यो मोटरसाइकलमा बेल्ट ड्राइभ प्रविधि प्रयोग गरिएको छ ।

यामाहा बोल्टको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने एबीएससमेत उपलब्ध रहेको छ । यसमा पनि सेमी डिजिटल कन्सोल दिइएको छ । रेट्रो डिजाइन हेडल्याम्प रहेको बोल्टमा ५ स्पीड बेल्ट ड्राइभ प्रविधि प्रयोग गरिएको छ ।

हार्ले आइरन ८८३ को मूल्य ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ भने, यामाहा बोल्टको मूल्य ३५ लाख ५० हजार तोकिएको छ ।


Back_to_top