काठमाडौं । हिमालयन मोटोराडले ७५ पैसा प्रति किलोमिटर खर्चमा चलाउन सकिने तीन पाङ्ग्रे इलेक्ट्रीक रिक्सा नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको उक्त इलेक्ट्रीक रिक्सा भारतको केरल अटोमोवाइल लिमिटेडले उत्पादन गरेको हो ।
आज राजधानीमा एक कार्यक्रम आयोजनागरि कम्पनीले उक्त इलेक्ट्रीक रिक्साको आधिकारीक विक्री सुरु गरेको हो । भारतीय केरला प्रदेश सरकारको लागनी रहेको केरल अटोमोवाइलले उत्पादन गरेको निम–जी इलेक्ट्रीक रिक्सा लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ ।
हिमालयन मोटररेडले नेपालमा वार्षिक ५०० यूनिट अटो रिक्सा बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले जर्मन टेक्नोलोजी प्रयोग भएको व्याट्री यसमा दिएको छ । उक्त व्याट्रीले एक पटकको फुलचार्जमा १३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । घरायसी बिजुलीबाट यसलाई ३ घन्टा ५५ मिनेटमा फुल चार्ज गर्न सकिने छ । यसमा रहेको व्याट्रीमा कम्पनीले ३ वर्ष वा १५०० लाइफ साइकलको वारेन्टी प्रदान गरेको छ ।
‘हामीले नेपाली सडक सुहाउँदो इलेक्ट्रीक रिक्सा नेपाल ल्याएका छौं । तर, सरकारले लगाएको भन्सार, अन्तःशुल्क लगायतका कारको कारण भारतमा २ लाख ५० हजार मूल्य रहेको रिक्सा नेपालमा ८ लाखभन्दा माथिको मूल्यमा बिक्री गर्नु पर्ने अवस्था आएको छ । सरकारले गरिबले चलाउने र गरिबले नै प्रयोग गर्ने रिक्सामा लगाएको करले नेपालमा विद्युतीय सवारी साधन प्रवद्र्धन कठिन देखिन्छ’, हिमालयन मोटोराडका अध्यक्ष धुब्र थापाले भने ।
उनका अनुसार सरकारले यस्ता सवारी साधनमा लाग्ने करका दर घटाउन सके यसले विद्युतीय गाडीको प्रयोग बढाउन सकिन्छ । यसले ३० डिग्रिसम्मको उकालोमा सहजै सेवा दिन सक्ने उनको दाबी थियो ।
निम–जी इलेक्ट्रीक रिक्साको टप स्पीड ४० देखि ४५ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसको दुबै चक्कामा हाइड्रोलिक ड्रम ब्रेक दिइएको छ ।

