लाइसेन्सका लागि अब जुनसुकै दर्तावाल डाक्टरको प्रमाणपत्रले मान्यता पाउने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का प्राप्तिका लागि स्वास्थ्य जाँच प्रक्रिया थप सरल र सहज बनाइने भएको छ ।

यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट अनुमति प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्ययवस्था मिलाउन सातै प्रदेशका यातायात मन्त्रालयलाई अनुरोध गर्दै परिपत्र गरेको हो ।

विभागकाे सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले असार ३२ गते सातै प्रदेशका यातायात मन्त्रालयहरूलाई परिपत्र गर्दै उक्त व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

२०८३ जेठ १३ गते पूर्वाधार विकास मन्त्रिस्तरीय निर्णयाबाट लाइसेन्सका लागि स्वास्थ्य जाँच गर्न मेडिकल काउन्सिलबाट अनुमति प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिएको थियो । सोही अनुसार यो नयाँ व्यवस्था लागू गर्न पत्राचार गरिएको विभागले जनाएको छ ।

वर्तमान व्यवस्थाका कारण सेवाग्राहीले अनावश्यक भीडभाड झेल्नुपर्ने, अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने र सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या सिर्जना भएकाले यो निर्णय लिइएको परिपत्रमा उल्लेख छ ।

नयाँ व्यवस्थाबाट सेवा प्रवाह थप सरल, पारदर्शी, एकरुपतायुक्त तथा सेवाग्राहीमैत्री हुने र स्वास्थ्य जाँच प्रणाली थप व्यवस्थित एवं मर्यादित बन्ने सङ्घीय सरकारको अपेक्षा छ ।

उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले नेपाल मेडिकल काउन्सिलसँग समन्वय अगाडि बढाएको छ । विभागले यही साउन १ गते काउन्सिललाई पत्राचार गर्दै काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको आधिकारिक विवरण समेत मागेको छ ।

चाँडै काउन्सिलबाट इजाजतप्राप्त चिकित्सकले अनलाइन पोर्टलबाटै सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्न सक्ने व्यवस्था मिलाइने विभागको भनाइ छ ।


Back_to_top