चीनमा आउँछ प्रत्येक दिन ४ नयाँ कार, कम्पनीहरू बीच चल्दै ‘क्रुर’ प्रतिस्पर्धा

काठमाडौं । चीनले सन् २०२६ को पहिलो ६ महिनामा नै ६५० नयाँ कार सार्वजनिक गरिसकेको छ । चिनियाँ कम्पनीहरूले पूर्णतः नयाँ, फेसलिफ्ट र अपडेटेड मोडल गरेर ६ महिनामै ६५० कार मोडल सार्वजनिक गरेको हो ।

यसलाई औसतमा हेर्दा प्रत्येक दिन चारवटा नयाँ वा परिमार्जित कार चीनमा सार्वजनिक भएको देखिन्छ । ब्लूमबर्गका अनुसार जनवरीदेखि जुनसम्म सार्वजनिक भएका सबै नयाँ कार, फेसलिफ्ट र मिड साइकल अपडेटको तथ्यांक यहाँ समावेश गरिएको छ ।

चीनको चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरको तथ्यांकअनुसार हरेक महिना औसत ३० वटा पूर्ण रूपमा नयाँ मोडल सार्वजनिक भएका छन् ।

चीनमा एकपछि अर्को नयाँ मोडल आउँदा बजार निकै प्रतिस्पर्धी भएको बताउँदै बीवाइडीका कार्यकारी उपाध्यक्ष हे झिकीले अहिलेको अवस्था पूर्ण रूपमा अविश्वसनीय रहेको बताए । उनी लेख्छन्, ‘चीनको अटो बजार अहिले कडा मात्र होइन, अत्यन्तै क्रुर प्रतिस्पर्धाको चरणमा पुगेको छ ।’

किन आयो यति धेरै नयाँ मोडल ?

विश्लेषकहरूका अनुसार चिनियाँ अटो निर्माता कम्पनीहरूले नयाँ मोडल विकास गर्न लाग्ने समय उल्लेखनीय रूपमा घटाए । बजारमा कार बिक्री सुस्त बन्दै जाँदा नयाँ मोडलको सहारामा लिन कम्पनीहरू बाध्य भए । मूल्य प्रतिस्पर्धा चर्किँदा र नयाँ कम्पनीहरू थपिँदा पनि उत्पादकहरूमा कडा प्रतिस्पर्धा भयो ।

यसले ग्राहकको ध्यान आकर्षित गर्न कम्पनीहरूबीच प्रविधि, डिजाइन र सुविधा थप गर्ने प्रतिस्पर्धा झन् तीव्र भयो ।

एआईदेखि ब्याट्री प्रविधिसम्म प्रतिस्पर्धा

नयाँ मोडल विकासको गति बढाउन कृत्रिम बौद्धिकता (एआइ) ले पनि महत्वपूर्ण भूमिका खेलेको छ । गाडीको डिजाइन, सफ्टवेयर, इन कार इन्टेलिजेन्स र विकास प्रक्रियामा एआईको प्रयोग बढेसँगै कम्पनीहरूले छोटो समयमा नयाँ उत्पादन बजारमा ल्याउन सफल भएका छन् ।

यससँगै उन्नत चालक सहायता प्रणाली (एडास), उच्च ऊर्जा घनत्व भएका ब्याट्री र छिटो चार्ज हुने प्रविधिलाई पनि ग्राहक आकर्षित गर्ने प्रमुख माध्यम बनाइएको छ ।


Back_to_top