हिरोले हरेक वर्ष १० नयाँ मोडल ल्याउने

काठमाडौं । हिरो मोटोकर्पले हरेक वर्ष १० नयाँ मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले १० करोड यूनिट मोटरसाइकल उत्पादन पुरा गरेको अवसरमा आयोजना भएको कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

कम्पनीले १० करोड यूनिट उत्पादनको विश्व रेकर्ड बनाएको अवसरमा आगामी सन् २०२५ सम्ममा ५० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको हो । यसले हिरो मोटोकर्प थप आक्रमक हुने देखिएको छ ।

‘हामी हरेक वर्ष निकै राम्रो वृद्धि पाइरहेका छौं । हामीले भविष्यको नयाँ टेक्नोलोजीमा पनि काम गर्दै जानु पर्नेछ । यस्तोमा हामीले आगामी ५ वर्षको प्रस्ट प्लान बनाएर काम गरिरहेका छौं’, कम्पनीका अध्यक्ष तथा सीइओ पवन मुन्जालले भने ।

हिरो मोटोकर्पले भारतमा करिब ३८ प्रतिशत बजार हिस्सा ओगटेको छ । विशेषत साना र कम मूल्यका मोटरसाइकल उत्पादनमा केन्द्रित रहेको हिरोका १०० देखि १५० सीसीसम्मका मोटरसाइकल धेरै सफल रहेका छन् ।

पावरफुल मोटरसाइकल सेग्मेन्टमा पनि हिरोले एक्सपल्स र एक्सट्रीम १६० आर जस्ता मोडल लिएर प्रवेश गरेको छ । कम्पनीले चाँडै ३०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ ।

नेपालमा पनि हिरोको स्प्लेन्डर र एक्सपल्स जस्ता मोडलहरु सफल रहेका छन् ।


Back_to_top