काठमाडौं । कुनै समय ‘हिरो-होन्डा’ ब्राण्डको नामबाट नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनी हिरो र होन्डा अलग भएसँगै विस्तारै खस्कदै गएको थियो ।
होन्डाले वार्षिक ७५÷८० हजार यूनिट मोटरसाइकल तथा स्कुटर विक्री गर्दा हिरोले २० हजार यूनिट विक्री गर्ने अवस्था सृजना भएको थियो । यसको मूख्य कारण हिरोसँग आधुनिक डिजाइनमा आधारित मोटरसाइकल उपलब्ध नहुनु रहेको थियो ।
विशेषत स्प्लेन्डरको विभिन्न रेञ्ज, एचीभर, एक्स्ट्रीम २०० जस्ता मोडलले ग्राहक तान्न सकेको थिएन भने स्कुटर सेगमेन्टमा प्लेजर, ड्यूट, डेस्टीनी जस्ता मोडलले पनि ग्राहकलाई लोभ्याउन सकेन ।
विस्तारै समय फेरिदो क्रममा पुगेको छ । अहिले हिरोले एकपछि अर्को नयाँ मोडल नेपाली बजारमा ल्याउन थालेको छ । कम्पनीले करिब १८ महिनाअघि नेपाल ल्याएको एक्सपल्स एड्भेन्चर मोटरसाइकलले हिरोलाई स्टाइलिस मोटरसाइकल उत्पादकमा बलियोसँग उभ्याएको छ ।
एक्सपल्स नेपालमा लगभग ५ हजार यूनिटभन्दा बढी विक्री भइसकेको छ भने यसको माग अनुसार सप्लाई पुग्न नसकेको कम्पनीले जनाएको छ । हिरो एक्सपल्स सफल हुनुमा एड्भेन्चर सेग्मेन्टमा कम मध्येको मूल्य, यसको डिजाइन र पर्फमेन्सलाई मुख्य मानिन्छ ।
नेपालमा सर्वाधिक सफल ब्राण्डमा पर्ने बजाज, होन्डा, यामाहा, टीभीएसले अहिलेसम्म बीएस ६ इन्जिनमा मोटरसाइकल बजारमा ल्याउने आँट गर्न सकेका छैनन् । यस्तो समयमा हिरोले १६० सीसी सेग्मेन्टमा पहिलो पटक बीएस ६ इन्जिनमा एक्स्ट्रीम १६० आरलाई बजारमा उतारेको छ । यसले कम्पनीलाई सेग्मेन्टमा नै आक्रमक बनाउने अपेक्षा गर्न सकिन्छ ।
हिरो एक्स्ट्रीम आरसँगै हिरोले हंक १५० आर पनि नेपाल ल्याएको छ । धेरै वर्ष पहिले पनि नेपालमा हिरो-होन्डा हंक नामबाट आएको थियो । तर, विगत लामो समयदेखि विक्री बन्द भएको हंक अहिले एबीएस लगायतका फिचरसहित नेपाल ल्याएको छ । २ लाख ८० हजार मूल्य तोकेर ल्याइएको हंकले राम्रै बजार लिन सक्ने देखिन्छ ।
हिरोको आधिकारीक वितरक एनजीएम हिरोले नेपाल ल्याएको बीएस ६ इन्जिन सहितको एक्स्ट्रीम १६० आर निकै प्रिमियम फिचरसहित बजारमा आएको छ । भारतमा निकै राम्रो विक्री पाइरहेको एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ टेक्नोलोजी र सुरक्षा फिचर सहित हिरोले बजारमा ल्याएको यो मोर्डन मोटरसाइकलले हिरोलाई नेपाली बजारमा नयाँ उचाईमा पुर्याउन सक्ने देखिएको छ । यद्यपी, नयाँ मोटरसाइकलको पर्फमेन्स कस्तो रहने छ, त्यो भने हेर्न वाँकी नै रहेको छ ।


