काठमाडौं । सीजी मोटर्सले गत वर्ष नाडा अटो शो २०२४ मा प्रर्दशन गरेको हिरो करिज्मा एक्सएमआर २१० नेपालमा बिक्री सुरू नहुँदै बन्द भएको छ । हिरो मोटोकर्पले करिज्माको बेस भेरियन्टको उत्पादन बन्द गरेको हो ।
हिरो मोटोकर्पले आफ्नो वेबसाइटबाट करिज्माको बेस भेरियन्ट हटाएर यसको बिक्री बन्द भएको जानकारी दिएको छ ।
कम्पनीले अब करिज्माको टप भेरियन्ट र कमव्याट भेरियन्ट मात्र बिक्री गर्नेछ । हिरो मोटोकर्पले हालै मात्र करिज्मामा टीएफटी डिस्प्ले अपडेट गरेको थियो । सुरूमा टेलिस्कोपिक सस्पेन्समा आएको करिज्मा अहिले यूएसडी फर्ककका साथ आउँछ ।
बेस भेरियन्टको बिक्री बन्द भएसँगै यसको अब सुरुवाती मूल्य २ लाख भारतीय रुपैयाँ भएको छ । कमब्याट भेरियन्टको मूल्य २ लाख २ हजार एक्स शोरुम रहेको छ ।
हिरो करिज्मा एक्सएमआरमा २१० सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ, डीओएचसी इन्जिन छ । यस इन्जिनले अधिकतम २५ बीएच पावर तथा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड १४० किलोमिटर रहेको छ ।
करिज्मा एक्सएमआर २१० मा ब्लुटूथ कनेक्टिभिटी सहितको ४.२ इन्चको टीएफटी डिस्प्ले छ । यसमा टर्न बाइ टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, ब्याट्रीको स्थिति, फ्युल अवस्था, म्युजिक कन्ट्रोल सिस्टम, गियर पोजिसन, स्पीड मिटर, ओडो मिटर, समय लगायत अन्य आवश्यक डिटेल्सहरू हेर्न सकिन्छ ।
त्यस्तै, यस मोटरसाइकलमा स्लिपर एसिस्ट क्लच, ६ स्पीडको गियर पोजिसन, पूरा एलईडी लाइट, डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर, वाइडर रियर टायर र यूएसडी फर्क जस्ता फिचरहरू छन् ।

