असोजमा मात्रै कोरलाबाट भित्रिए ३१०० बढी ईभी, ३ महिनामै वार्षिक राजस्व लक्ष्य पूरा

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै कोरला नाकाबाट ३ हजार युनिट बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि ३० गतेसम्म कोरला हुँदै ३ हजार १०० युनिट बढी ईभी नेपाल आएका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले असोजमा ३१०० युनिट बढी विद्युतीय सवारी र १ हजार बढी कन्टेनर मालसामान भन्सार जाँचपास गरिएको बताए । पछिल्लो दुई सातामा मात्रै झण्डै २ हजार ईभी जाँचपास भएको उनले बताए ।

‘रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो क्रममा छ,’ उनले मेरोअटोसँग भने, ‘असोज महिनामा मात्रै ३१०० युनिट बढी विद्युतीय सवारी र १००० कन्टेनर मालसामान जाँचपास गरियो ।’

चालु आवको ३ महिना (साउन असोज)मा कोरलाबाट करिब ४५०० युनिट ईभी र १७५० कन्टेनर मालसामान भित्रिएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार साउनमा १००, भदौमा १३५३ र असोजमा ३१०० युनिट बढी विद्युतीय कार नेपाल आएका हुन् ।

चीनसँग व्यापार गर्ने दुई प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरूले विकल्पमा धमाधम कोरलाबाट विद्युतीय सवारी आयात गरेका हुन् ।

व्यवसायीहरुले दशैं तिहार जस्ता चाडवाडलाई लक्षित गरी ठूलो संख्यामा विद्युतीय सवारी ल्याएका हुन् । गत नाइमा र नाडा अटोशोमा बुकिङ लिएका ग्राहकलाई डेलिभरी दिन ठूलो संख्यामा ईभी आयात गरेका हुन् ।

कोरला नाका हुँदै बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको हो ।

३ महिनामै भेटियो राजस्व लक्ष्य

कोरला नाका हुँदै आयात ह्वात्तै बढेसँगै ३ महिनामै राजस्व लक्ष्य भेटिएको छ । चालु आवमा मुस्ताङ भन्सार कार्यालयले ९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालय प्रमुख चुडालका अनुसार असोज मसान्तसम्म कुल ९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवको ३ महिनामा विद्युतीय सवारी र कन्टेनरमा ल्याएको सामान जाँचपासबाट उक्त राजस्व प्राप्त भएको उनको भनाइ छ ।

गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ देखि मुस्ताङ भन्सार नियमित रूपमा संचालनमा ल्याएको थियो । गत वर्ष कोरला हुँदै करिब ३ हजार विद्युतीय सवारी आयात भएको थियो भने कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सडकका कारण गन्तव्यमै पुर्याउन मुस्किल

व्यवसायीले कोरला नाकाबाट ठूलो संख्यामा ईभी भित्र्याए पनि गन्तव्यमा पुर्याउन कठिनाइ भइहरेको छ । गत असोज ८–१२ गतेसम्म आएको बाढीपहिरोले ५५ ठाउँमा क्षतिग्रस्त बनाएको कालिगण्डकी करिडोर असोज २३ देखि संचालनमा ल्याइएको छ । तर, सडक हिलाम्मे र खाल्डाखुल्डी हुँदा ईभी गन्तव्यमा पुर्याउन समस्या भएको हो ।

पर्वतको मालढुंगादेखि कोरलासम्मको दुरी २०२ किमी छ । सोमध्ये म्याग्दी खण्डको करिब २२ किलोमिटर सडकको अवस्था निकै खराब रहेको छ । यसखण्डको धेरै ठाउँमा हिलो तथा खाल्डाखुलडीमा गाडी फस्ने जोखिम छ । सोही कारण भन्सार जाँचपास भएका करिब १ हजार ५०० बढी गाडी मुस्ताङका विभिन्न ठाउँमा थन्किएका छन् ।

यद्यपि, खराब सडकका बाबजूद व्यवसायी ग्राहकलाई समयमै डेलिभरी दिन धमाधम गाडी ल्याइरहेका छन् । केही गाडी काठमाडौं आइपुगेका छन् भने धेरै जसो बाटोमै आउँदै छन् । पछिल्लो एक सातामै १ हजार बढी ईभी आइसकेका छन् ।

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक योजनाले बिग्रिएको सडक मर्मत गरी ईभी ल्याउन सहजीकरण गरिरहेको छ । आयोजनाले खाल्डाखुल्डी पुर्न र सडक बिग्रिए तत्कालै मर्मत गर्न उपकरण परिचालन गरेको छ ।


Back_to_top