काठमाडौं । विश्वकै सर्वाधिक धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हिरोले भारतमा धमाधम नयाँ मोटरसाइकल सार्वजनिक गरिरहेको छ । कम मूल्यका मोटरसाइकल उत्पादनमा महारथ हासिल गरेको कम्पनीले बिस्तारै प्रिमियम सेग्मेन्टमा पनि प्रबेश गरेको हो ।
हिरोका उत्पादन नेपाली बजारमा ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङले (एनजीएम) विक्री गरिरहेको थियो । तर, अचानक पछिल्लो एक वर्षदेखि नेपालमा हिरोका नयाँ मोटरसाइकल आयात हुन सकेको छैन ।
नेपालमा नयाँ कुनै पनि नयाँ उत्पादन नपठाएको हिरो मोटोकर्प र एनजीएम बीच थुप्रै मुद्दा अदालतमा पर्यो । केही मुद्दा टुङ्गो लागेपनि केही मुद्दा अझै विचाराधीन छन् । नेपालमा नयाँ उत्पादन आउन बन्द भएपछि भारतमा एक्सपल्स २०० को नयाँ भर्सन र करिज्मा नामबाट नयाँ मोटरसाइकल बिक्री सुरु भएको छ ।
हिरो मोटोकर्प र एनजीएमको ३० वर्ष लामो सहकार्यमा ब्रेक लागेसँगै हिरो इन्डियाले नेपालमा नयाँ डिलरको खोजी गरिरहेको छ । डिलरसिपको विषय अदालतमा चलिरहेको कारण आधिकारीक रुपमा नयाँ डिलर घोषणा भएको छैन ।
डिलरसिप गुमाएको एनजीएमले नै हिरो ल्याउन प्रयास गरिरहेको भएपनि त्यसमा ठोस प्रगति बन्न सकेको छैन । अब एनजीएममा हिरो नआउने लगभग निश्चित देखिन्छ ।
एनजीएमको अवस्था
हिरो मोटोकर्प श्रोतका अनुसार एनजीएमले गत दुई वर्षदेखि नै राम्रो पर्फमेन्स गर्न नसकेको कारण डिलरशिप नविकरण गर्न नसक्ने अवस्थामा पुगेको थियो । लामो समयदेखि नयाँ मोटरसाइकल ल्याउन नसकेको एनजीएमले रहेको स्टक सक्ने बाटो तय गरेको बुझिएको छ ।
एनजीएमका काठमाडौंमा उपत्यकामा रहेका केही डिलर मार्फत स्टकमा रहेका स्कुटर, एक्सपल्स २०० र अन्य मोटरसाइकल मूल्य घटाएर बिक्री गरिरहेको छ ।
त्यस्तै केही समय अघि कम्पनीले आधिकारीक सर्भिस सेन्टहरुलाई ४० प्रतिशत छुटमा स्पेयर पार्टस् किन्न आह्वान गरेको थियो । यसबाट के बुझ्न सकिन्छ भने एनजीएमले हिरोको डिलरसिप नविकरण गर्न नसक्ने अवस्था सृजना भएको छ ।
कसरी भयो विवाद सुरु ?
हिरो मोटोकर्प र एनजीमको सम्बन्ध ३० वर्षभन्दा लामो हो । ज्योति ग्रुपका निर्देशक रुप ज्योतिले धेरै पटक मिडियामा भनेका छन्, ‘भारतमा हिरो र होन्डा अगल हुँदा होन्डा कम्पनीको डिलर लिन सक्थे । तर, मैले पारिवारीक सम्बन्ध भएका कारण हिरो लिएको हुँ ।’ तर, त्यही कम्पनीसँग अहिले रुप ज्योतिको सम्बन्ध चिसो भएको छ ।

कम्यूटर मोटरसाइकल मात्र बनाउने हिरोले नेपाली बजार खासै राम्रो गर्न सकेको थिएन । भारतमा निकै राम्रो बिक्री भएपनि यहाँका ग्राहकको छनोटमा हिरो पर्न सकेन । बिक्री कम भएसँगै ३ वर्षअघि नै एनजीएमले हिरोको डिलशिप नविकरण गर्न नसकेको हल्ला बजारमा चल्न सुरु भएको थियो ।
तर, पछिल्लो समयम नेपाल आएको हिरो एक्सपल्स २०० ले बजार तान्यो । पहिलो वर्ष नै ५ हजार यूनिट एक्सपल्स २०० बिक्री भयो । त्यसले केही समय एनजीएमलाई राहत मिल्यो ।
पछिल्लो समय नेपालमा दुई पाङ्ग्रे एसेम्वलमा सबै कम्पनी लागि परे । एनजीएमले पनि हिरोका मोटरसाइकल एसेम्वल गर्न प्लाट लगायो । तर, प्लान्ट संचालनमा आउनै लाग्दा पुनः एकपटक एनजीएम र हिरो मोटोकर्प बीच विवाद सहतमा आयो । यस पटक विवाद अदालतसम्म पुग्यो ।
डा. रुप ज्योतिले मेरोअटोसँगको अन्तर्वातामा नै हिरो मोटोकर्पले नेपालमा मोटरसाइकल एसेम्वल गर्दा नेपाल सरकारले दिएको कर छुटको ५० प्रतिशत दावी गरेसँगै यो विवाद सुरु भएको बताएका थिए ।
ज्योती ग्रुपमा नै फर्कने हल्ला
हिरो मोटोकर्प विरुद्ध नेपाल र भारतमा नै मुद्धा दायर गरेसँगै पवन मुन्जालले एनजीएमबाट जो कोही आएपनि कार्यालय प्रवेश गर्न नदिनुसम्म भनेको हल्ला बजारमा चलेको थियो ।
तर, मुन्जालले ज्यातिलाई पुनः एकपटक सँगै काम गर्न मौका दिने भन्दै भारत बोलाए । त्योसँगै नेपालका केही अनलाइनले हिरो अव एनजीएममा नै फर्कने समाचार प्रकाशन गरे । त्यसपश्चात् एनजीएमले पनि आफ्ना डिलरहरुलाई अव मोटरसाइकल आउने र दशैंमा नयाँ मोटरसाइकल बिक्री गर्न तयार हुनु भनेर सर्कुलरसमेत जारी गरेको बताइन्छ ।
पवन मुन्जाललाई भेट्न भारत गएका ज्योति र मुन्जाल बीच कुरा भयो । मुन्जालले उनलाई मौका दिने तर ठूलो भोलूममा मोटरसाइकल उठाउनु पर्ने प्रश्ताव राखे । तर, उनको अपेक्षा अनुसार एनजीएमले मोटरसाइकल उठाउन सकेन ।
मुन्जाल र डा. ज्योतिको स्वभाव
पवन मुन्जाल योग र विपाशनामा धेरै समय विताउने मानिस हुन् । तर, पनि उनी एकदमै मुडी स्वभावका ब्यक्ति हुन् । मुन्जाल आफ्नै परिवारमा पनि भतिजसँग हिरो इलेक्ट्रीकका विरुद्ध मुद्दा लड्दै आएका छन् ।
स्वभावत कसैसँग घुलमिल हुन नचाहने मुन्जालको किस्सा धेरै सुन्न पाइन्छ । यता डा. रुप ज्योति पनि लगभग एउटै स्वभावका हुन् । उनि पनि परिवारका सदस्यलाई दर्जनौ मुद्दा हालेर दौडिरहेका छन् ।
सन् २०२० मा भारतको राजस्थानमा रहेको हिरोको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा भएको हिरो वल्ड २०२० मा सहभागी हुन पुगेको १४ देशका पत्रकारलाईसमेत भेट्ने कार्यक्रम राखेर मुन्जालले नभेटी हिडेको थिए ।

हिरोको नेपाल भविष्य
अहिलो दुई पाङ्ग्रेको बिक्री ६० प्रतिशतले घट्दो छ । यस्तो अवस्थामा हिरो जो सुकैले बिक्री गरेपनि ठूलो संख्यामा बिक्री गर्न सक्ने अवस्था छैन । तर, हिरोले एक वर्षमा ३० हजार मोटरसाइकल नेपालमा बिक्री गर्नु पर्ने सर्त राख्दै आएको बुझिएको छ । त्यहि कारण पनि एनजीएमपछि हटेको अनुमान गर्न सकिन्छ ।
नेपालबाट धेरै कम्पनीले हिरो ल्याउन प्रयास गरेका थिए । अहिले सिजी ग्रुपले ल्याउने हल्ला चलिरहेको छ । अहिलेकै अवस्थामा कम्पनीले सोचेजस्तो बिक्री हुन नसकेपनि निकट भविष्यमा जसले नेपालमा हिरोका उत्पादन बिक्री गरेपनि बिक्री बढाउन सक्ने अवस्था भने सृजना भएको छ ।


