नेपालमा लन्च हुन लागेका दुई नयाँ डबल पर्पस मोटरसाइकल, ७ आधारमा कुन उत्कृष्ट ?

काठमाडौं । नेपालमा डबल पर्पस एड्भेन्चर सेग्मेन्टमा हिरो र सीएफमोटोले नयाँ मोटरसाइकलको बिक्री सुरू गर्न तयारी थालेका छन् ।

हिरोको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो चर्चित एड्भेन्चर एक्सपल्सको २१० मोडल र ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअलको नेपाली बजारमा चाँडै बिक्री सुरू गर्ने भएका हुन् । दुवै मोडल डबल पर्पस एड्भेन्चर सेग्मेन्टमा भएकाले बजारमा आएपछि राम्रै प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

मूल्य, पर्फमेन्स र फिचरका हिसाबले हेर्दा दुवै मोडल ६ लाखभन्दा माथि नै पर्ने देखिन्छ । हाल कम्पनीहरूले आ-आफ्नै तर्फबाट मोटरसाइकलको प्रचार गरिरहेका छन् । सार्वजनिक हुने मिति भने अहिलेसम्म तय भएको छैन ।

एउटै सेग्मेन्टका यी दुई मोटरसाइकलको हामीले यहाँ तुुलनात्मक चर्चा गरेका छाैं ।

ब्राण्ड र मोडल

हिरो भारतीय चर्चित मोटरसाइकल ब्राण्ड हो भने सीएफमोटो चिनियाँ ब्राण्ड हो । नेपालमा ब्राण्ड र बिक्रीको तुलनामा सीएफमोटो भन्दा हिरो अगाडि छ । तर पछिल्लो समय भने सीएफमोटो पनि निकै चर्चित हुँदै गइरहेको छ । कम्पनीले नेपाली बजारमा नयाँ ४५० एमटी एड्भेन्चर मोटरसाइकलको बिक्री थालेसँगै बजारमा धेरैको रोजाइमा पर्न सफल भएको हो ।

एड्भेन्चर ४५० एमटीबाट थारै समयमै धेरै चर्चा कमाएपछि सीएफमोटो नेपालले डबल पर्पस सेग्मेन्टमा रहेको नयाँ २५० डुअल मोडल ल्याउने भएको हो । यो मोडल चीनसँगै अन्य देशहरूमा पहिल्यैदेखि बिक्री हुँदै आइरहेको छ । एड्भेन्चरमै भएका कारण यसले पनि चर्चा कमाउन कम्पनीले बताएको छ ।

अर्को तर्फ सीजी मोटर्सले एक्सपल्स २१० नाडा अटोशो २०२५ मा सार्वजनिक गरिसकेको मोडल हो । आधिकारिक रूरुपमै सार्वजनिक भए पनि कम्पनीले अझै यसको बिक्री थालेको छैन । तर, भारतमा भने एक्सपल्स २१० पनि पहिलै बिक्री सुरू भइसकेको मोडल हो । यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । नेपाली बजारमा दुवै मोडल कत्तिको सफल हुन्छन् भन्ने कुरा मूल्यले पनि निर्धारण गर्छ ।

डिजाइन

दुवै मोडल अफरोडका लागि मात्रै नभइ सहरमा पनि चलाउन मिल्ने हिसाबले डिजाइन गरिएको छ । त्यसैले, डबल पर्पस एड्भेन्चर सेग्मेन्ट डीएनए डिजाइनमा परेका हुन् । दुवैमा डबल पर्पसलाई उपयुक्त हुने कम्पोनेन्टहरू, हाई ग्राउण्ड क्लियरेन्स, अग्लो ह्याण्डलबार, हलुका तौल, आकर्षक हेडल्याम्प र अन्य ट्राभल सेटअप पाउन सकिन्छ । एक्सपल्सको अगाडि विन्ड सिल्ड छ भने २५० डुअल नेकेड टाइपको छ ।

इन्जिन र पर्फमेन्स

एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड, एफआई, बीएस ६ इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम २४.६ पीएस पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ ।

२५० डुअलमा २४९ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, डीओएचसी, फोर भल्ब, युरो ५ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २४.४ पीएस पावरका तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ ।

एक्सपल्सको टप स्पीड लगभग १२५ किलोमिटर प्रतिघण्टा र २५० डुअलको १३५ किलोमिटटर प्रतिघण्टा आसपासमा रहेको छ ।

माइलेज

दुवै मोडलमा पेट्रोल ट्यांक क्षमता १३ लिटर छ । यी मोडलले प्रतिकिलोमिटर माइलेज ३० भन्दा माथि नै दिने छन् । यो लामो दुरीको अफरोड यात्राका लागि राम्रो पक्ष हो ।

टायर, सस्पेन्सन

दुवै मोडलमा डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, डबल पर्पस टायर र वायर स्पोक ह्वील दिइएको छ । एक्सपल्स २१० को फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फोर्क र रियरमा मोनोशक सस्पेन्सन छ । सीएफमोटो २५० डुअलको फ्रन्टमा अपसाइड डाउन यूएसडी फोर्क र रियरमा एड्जस्टेबल मोनोशक सस्पेन्सन छ । दुवै लङ ट्राभल सस्पेन्सन सेटअप हो ।

डाइमेन्सन

१५४ किलोग्राम तौल रहेको डुअल २५० को लम्बाइ २१२० एमएम, चौडाइ ९१० एमएम, उचाइ १२२५ एमएम, ह्वीलबेस १४१५ एमएम र ग्राउण्ड क्लियरेन्स २४५ एमएम छ ।

एक्सपल्स २१० को लम्बाइ २२५४ एमएम, चौडाइ ८८४ एमएम, उचाइ १३४८ एमएम र ह्वीलबेस १४४६ एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम छ भने तौल १७० किलोग्राम रहेको छ ।

अन्य फिचरहरू

एक्सपल्समा इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल एबीएस मोड सिस्टम, ट्याकोमिटर, ओडोमिटर, गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, यूएसबी चार्जिङ पोर्ट र एलईडी लाइट जस्ता फिचरहरू छन् ।

२५० डुअलमा स्पिडोमिटर, ट्रिप, गियर इण्डिकेटर, ईन्धन गेज आदिको जानकारी देखाउने एलसीडी डिजिटल कन्सोल, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, स्विचेबल एबीएस सिस्टम र साइड स्ट्यान्ड सेफ्टी स्विच जस्ता फिचरहरू छन् ।

निष्कर्ष

फिचरका हिसाबले एक्सपल्स केही अगाडि छ । सीएफमोटोको डुलभन्दा यसमा धेरै टेक फिचर छन् । तर, पावरका आधारमा सीएफमोटो २५० डुअल बलियो देखिन्छ । यसमा ठूलो इन्जिन भएकाले भएकाले अफरोड टर्क केही बढी जेनेरेट गर्छ ।

हालसम्म दुवैको मूल्य सार्वजनिक नभएकाले कुन सस्तो कुन महँगो भन्न सक्ने अवस्था छैन । मूल्य बाहेक फिचर र पर्फमेन्सका आधारमा दुवै मोडल डबल पर्पस सेग्मेन्टमा उत्कृष्ट विकल्प बन्न सक्ने देखिन्छ ।


Back_to_top