काठमाडौं । भारत चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) खण्ड अन्तर्गत मालढुंगा-बेनी सडक दुई लेनमा स्तरोन्नति भएको छ ।
पर्वत र म्याग्दी जोड्ने १३ किलोमिटर लामो मालढुंगा-बेनी सडक दुई लेनमा (११ मिटर फराकिलो) कालोपत्र गरिएको हो । यो सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगादेखि जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक स्तरोन्नति थालिएको ५ वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको हो ।
बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले मालढुंगा-बेनी सडकको १३ किमीमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको जानकारी दिए ।
उनका अनुसार वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ती खण्ड ठेक्काबाट हटाउनुपरेको हो ।
‘मालढुंगा-बेनी खण्डको १३ किमीमध्ये ९६० मिटर बाहेकमा कालोपत्र र ढलान सकिएको छ । ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ,’ उनले भने, ‘वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा १००/१०० मिटर सडक भने ठेक्काबाट हटाइएको छ ।’
१३ किलोमिटर सडक दुई लेनमा स्तरोन्नति गर्न २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का पाएको थियो । २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडक ३ वर्ष ढिला सम्पन्न हुन लागेको हो ।
कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव देखाउँदै ठेकेदारले हेलचेक्र्याइँ गर्दा सडक निर्माणमा ढिलाइ भएको हो ।
सडक दुई लेनमा कालोपत्र भएसँगै मालढुंगा-बेनीको यात्रा अवधि छोटिएको छ । यसअघि मालढुंगाबाट बेनी पुग्न १ घण्टा लाग्ने गरेकोमा अब २० मिनेटमै गर्न सकिने भएको छ । सडकको अवस्था निकै खराब रहँदा सवारी साधन मालढुंगाबाट बागलुङ रत्नेचौर हुँदै बेनीसम्म घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।

