काठमाडौं । मुस्ताङस्थित कोरला नाका हुँदै धमाधम विद्युतीय सवारी साधन (र्एभी) नेपाल भित्रिन थालेका छन् ।
नियमति रूपमा गाडी आयात गर्ने रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरूले विकल्पमा कोरला नाका हुँदै सवारी साधन आयात गर्न थालेका हुन् ।
अटो व्यवसायीहरूले गत साउन र भदौमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा ठूलो संख्यामा कारको बुकिङ लिएका छन् । मुख्यगरी चीनबाट सवारी ल्याउने व्यवसायीहरूले ग्राहकलाई समयमै डेलिभरी दिन वैकल्पिक नाका हुँदै आयात थालेका हुन् । भारत, थाइल्याण्ड लागायत देशबाट सवारी आयात गर्ने व्यवसायीलाई भने कुनै समस्या छैन ।
यसअघि रसुवागढी र तातोपानी नाकाका लागि एलसी खोलेको गाडीहरू समेत डाइभर्ट गरेर कोरलाबाट ल्याउन लागेका हुन् । साथै, नयाँ आयातका लागि भन्सार बिन्दु कोरला राखेर एलसी खोल्न थालेका छन् । गत वर्ष जस्तै यस वर्ष पनि दशैं, तिहारमा डेलिभरी दिने गाडी कोरलाबाटै ल्याउनुपर्ने बाध्यता देखिएको छ ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले कोरला हुँदै नियमित रूपमा विद्युतीय सवारी आइरहेको जानकारी दिए । उनका अनुसार भदौ महिनामा मात्रै १३३ युनिट विद्युतीय सवारी भन्सारमा आइपुगेका छन् । ती सवारी जाँचपासको क्रममा रहेको उनले बताए ।
अरू धेरै विद्युतीय सवारी बाटोमा आउँदै गरेको बताइए पनि संख्या भने थाहा नभएको उनले बताए । ‘चीनबाट विद्युतीय सवारी आइरहेका छन् । भदौ लागेपछि १३३ युनिट ईभी आएका छन् । ती जाँचपासको क्रममा छन्,’ उनले मेरोअटोसँग भने, ‘अरू पनि थुप्रै गाडी आइरहेको बताइएको छ । यहाँ नआएसम्म हामीलाई संख्या थाहा हुँदैन ।’
उनले भन्सार जाँचपास सहज बनाउन कर्मचारी थपिएको बताए । कोरला नाका हुँदै चालु आवको साउनमा कोरलाबाट १०० युनिट विद्युतीय सवारी नेपाल भित्रिएका थिए । गत जेठमा बजेट अघि मात्रै ७०० युनिट बढी ईभी आयात भएको थियो ।
गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ देखि मुस्ताङ भन्सार नियमित रूपमा संचालनमा ल्याएको थियो । गत वर्ष कोरला हुँदै करिब ३ हजार विद्युतीय सवारी आयात भएको थियो भने कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कोरला नाका हुँदै बीवाडी, लीपमोटर, जेको, ओमोडा, चेरी, नामी, एमजी लगायत ब्राण्डका ईभी आयात हुँदै आएका छन् ।


