सामान ल्याउन दैनिक ५० बढी कन्टेनर कोरला जाँदै, भन्सारमा कर्मचारी थप

काठमाडौं । चीनसँग व्यापार गर्ने प्रमुख दुई नाका तातोपानी र रसुवगढी नाका बन्द भएसँगै मुस्ताङस्थित कोरला नाकामा चाप बढेको छ ।

भदौ १० गते आएको बाढीले रसुवागढी नाका र भन्सार कार्यालय ध्वस्त बनाएको छ । पहिरोको जोखिम देखाउँदै चीन्ले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको छ । नियमति व्यापार गर्ने प्रमुख दुई नाका नै बन्द भएपछि व्यवसायीले विकल्पमा कोरला नाका हुँदै सामान ल्याउन थालेका हुन् ।

व्यवसायीहरुले दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सामान आयात गरिरहेका हुन् । मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालले रसुवागढी नाका बन्द भएसँगै कोरलाबाट आयात बढेको जानकारी दिए ।

उनका अनुसार रसुवागढीनाका बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु आयातका लागि हाल औसतमा दैनिक ५० भन्दा बढी कन्टेनर गइरहेको बताए । चाडवाड नजिएकाले आगामी दिनमा यस नाका हुँदै सामान आयात बढ्ने भएकाले जाँचपासका लागि थप व्यवस्थापन गरिएको उनले बताए ।

‘रसुवागढी नाका बन्द भएसँगै कोरलाबाट आयात बढ्दो छ । दैनिक ५० बढी रित्ता कन्टेनर कोरलातर्फ गइरहेका छ,’ उनले मेरोअटोसँग भने, ‘चाडवाड नजिएकाले आगामी दिनमा आयात झन् बढ्ने छ । सहज जाँचपासका लागि कर्मचार थप्ने, क्वारेन्टाइनको क्षमता विस्तार लगायत काम भइरहेको छ ।’

रसुवागढी–केरुङ नाकाबाट कोरला नाकातर्फ पठाइएका सयौँ कन्टेनरमा रहेका फलफूलको क्वारेनटाइन परीक्षण गर्नुपर्ने भएकाले कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले केही कर्मचारीलाई मुस्ताङ पठाइसकेको उनले जानकारी दिए ।

कर्मचारी थप

कार्यालयमा कामको चाप बढेसँगै भन्सार विभागले थप कर्मचारी पठाएको छ । विभागले मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी काजमा पठाएको हो ।

कार्यालय प्रमुख चुडालका अनुसार भन्सार विभागले तीन अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी पठाएको हो । ती कर्मचारी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेनटाइन कार्यालयमा कर्मचारीमा खटाइएको उनले बताए ।

यसअघि मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी भए पनि १२ जना मात्रै कार्यरत थिए । रसुवागढी र तातोपानी नाका पूर्णरूपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

विसं २०८२ भदौ ३१ गते मुस्ताङको कोरलालाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले नियमित रुपमा मुस्ताङ भन्सार कार्यालय संचालनमा ल्याएको थियो ।

गत आवमा यस कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस नाका हुँदै करिब ३ हजार विद्युतीय सवारी साधन भित्रिएका थिए । यसैगरी, चालु आवको पहिलो साउन महिनामा २९ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।


Back_to_top