३ लाख २६ हजारले घट्यो नामी बक्सको मूल्य, के हट्यो, के थपियो ?

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको दुई वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल डोङफेङ नामी बक्स ईभीको मूल्य ३ लाख २६ हजार रुपैयाँले घटेको छ । कम्पनीले मूल्य घटाउँदा केही फिचर कटाएको छ भने केही महत्वपूर्ण फिचरहरु थप गरेको छ ।

एमएडब्लू वृद्धिले नेपालमा बिक्री गर्दै आएको नामी बक्सको ठूलो ब्याट्री भेरियन्टको मूल्य ३ लाख २६ हजार रुपैयाँले घटाइएको हो ।

मूल्य घटेसँगै नयाँ फिचर थपिएको र केही फिचर हटाएर आएको नामी बक्सले नेपाली बजारमा आफ्नो प्रारम्भिक क्रेज पुनः फर्काउने अनुमान गर्न सकिन्छ । नाडा अटो शो २०२६ को दौरान लन्च भएको नामी बक्समा उपभोक्ताको राम्रै आकर्षण थियो ।

नामी बक्स आकर्षक डिजाइन, फरक किसिमको इन्टेरियर र फिचर-लोडेड क्याबिनका कारण सुरुवाती दिनदेखि नै उपभोक्ताको ध्यान तान्न सफल मोडल हो । सुरुवातमा ७० किलोवाट मोटर र दुई ब्याट्री विकल्पमा आएको नामी बक्स ईभी अहिले ५० किलोवाट क्षमताको मोटरमा बिक्री हुँदै आएको छ ।

अहिले नामी बक्समा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प छन् । सानो ब्याट्रीले डब्लूएलटीपी परीक्षणअनुसार २३७ किलोमिटर र ठूलो ब्याट्रीले ३१७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

बजारमा यसअघि ३६ लाख २५ हजार मूल्य तोकेर बिक्री हुँदै आएको ठूलो ब्याट्री भएको भेरियन्ट अहिले ३२ लाख ९९ हजार रुपैयाँमा किन्न पाइने भएको छ । अहिले कम्पनीले दुबै भेरियन्टमा थप १ लाख रुपैयाँ नगद छुट पनि दिएको छ ।

कम्पनीले २०२६ मोडलको नामी बक्समा उपभोक्ताको प्राथमिकतालाई ध्यानमा राखेर केही महत्वपूर्ण फिचर थपेको जनाएको छ । सबैभन्दा उल्लेखनीय परिवर्तन सुरक्षा फिचरमा भएको छ ।

नयाँ नामी बक्समा अब ६ वटा एयरब्याग उपलब्ध छन् । यसअघि बजारमा बिक्री भएको मोडलमा दुईवटा एयरब्याग मात्र थिए । थपिएको चार वटा एयरब्यागले नयाँ मोडलको सुरक्षा प्याकेजलाई बलियो बनाएको छ ।

त्यस्तै, इन्फोटेनमेन्ट सिस्टममा ‘डार्क मोड’, इनबिल्ट एप्पल कार प्ले र एन्ड्रोइड अटो थपिएका छन् । दैनिक प्रयोगमा स्मार्टफोन कनेक्टिभिटीलाई सहज बनाउने यी फिचरले नयाँ पुस्ताका ग्राहकलाई आकर्षित गर्न सक्छ ।

मूल्य घटाउने क्रममा कम्पनीले केही फिचर भने हटाएको छ । अघिल्लो मोडलमा उपलब्ध अटो पार्किङ, एम्बियन्ट लाइट र एडास फिचर हटाइएको छ ।

कम्पनीका अनुसार नेपाली सडक तथा बजारमा तुलनात्मक रूपमा कम प्रयोग हुने फिचर हटाएर मूल्यलाई थप प्रतिस्पर्धी बनाइएको हो ।

नयाँ नामी बक्सको रणनीति हेर्दा कम्पनीले ‘धेरै फिचर’ भन्दा आवश्यक फिचर र प्रतिस्पर्धी मूल्यलाई प्राथमिकता दिएको देखिन्छ । विशेषगरी ३० लाख रुपैयाँ आसपासको मूल्यमा राम्रो रेन्ज, पर्याप्त सुरक्षा र आधुनिक कनेक्टिभिटी खोज्ने ग्राहकका लागि यो रणनीति प्रभावकारी हुन सक्छ ।

मूल्य घटेसँगै नामी बक्सले नेपाली कम्प्याक्ट ईभी बजारमा आफ्नो स्थान अझ बलियो बनाउला कि नयाँ प्रतिस्पर्धीको भीडमा हराउला, त्यो हेर्न भने केही महिनाको बिक्री कुर्नुपर्ने हुन्छ ।


Back_to_top