काठमाडौं । प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा जाँदा उम्मेदवारहरूले रुफटप भेहिकल (छत खोलेर हिँडन मिल्ने) सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको हो ।
अहिले धेरै जसो उम्मेदवारहरूले रुफटप भेहिकल प्रयोग गरी चुनावी प्रचारप्रसार र भोट माग्ने काम गरिरहेका छन् । यस्तो गर्दा उम्मेदवारको सुरक्षामा असर पर्न सक्ने देखिएकाले प्रयोगमा रोक लगाइएको बैठकमा सहभागीहरूले बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

