४० लाखभन्दा कममै कार खोज्नेलाई यी हुन् उत्कृष्ट ४ विकल्प

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय मध्यम मूल्यका कारमा ग्राहकको उच्च आकर्षण देखिन्छ । मुख्यगरी अहिले नेपाली बजारमा ३० देखि ४० मूल्यका विद्युतीय कारमा आकर्षण देखिएको हो ।

चर्को प्राइस वारका कारण यसअघि ४०-५० लाख रेन्जमा पाइने कार अहिले ३५ देखि ४० लाख रुपैयाँमै पाइने अवस्था छ । साथै, बजारमा आएका नयाँ मोडलले आफूलाई स्थापित गर्न आक्रमक मूल्य निर्धारण गर्दा प्रतिस्पर्धा झनै रोचक बनेको हो ।

हालै सम्पन्न नाइमा र नाडा अटो शोमा ३०-४० लाख रेन्जका १ दर्जन बढी नयाँ र अपग्रेटेड मोडल लन्च भएका छन् । नयाँ लन्च भएका मोडलले बजारमा प्रस्पिर्धा बढाउनुका साथै ग्राहकलाई नयाँ विकल्प समेत दिएका छन् ।

बजारमा एउटै मूल्य रेन्जमा धेरै कार उपलब्ध हुँदा उपभोक्तालाई कुन किन्ने भन्ने अन्योलता समेत हुने गर्छ । यस्तोमा तुलनात्मक अध्ययन गरी उत्कृष्ट कार रोज्नुपर्छ ।

यहाँ हामीले मूल्य, आधुनिक प्रविधि, सेफ्टी फिचर, साइज, रेन्ज, व्यवहारिकता, ब्राण्ड भ्यालु लगायत आधारमा ४० लाख मुनि पाइने उत्कृष्ट विकल्प अर्थात् ‘भ्यालु फर मनि’ कारको चर्चा गरेका छौं ।

नामी भिगो

अहिले ४० लाख मुनिको ईभी खोज्नेलाई सबैभन्दा उत्कृष्ट विकल्प हो नामी भिगो । केही साता अघिसम्म ४४ लाख रुपैयाँमा बिक्री हुँदै आएको भिगो अहिले ६ लाख सस्तोमा पाइन्छ । एमएडब्लू वृद्धिले नामी भिगाको सुरुआती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

नामी भिगोमा ४० देखि ५० मूल्यमा कारको जस्तै आधुनिक र सेफ्टी फिचर, ठूलो ब्याट्री, शक्तिशाली मोटर, रेन्ज, व्यवहारिकता पाइन्छ । यसको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र चौडाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । नामी भिगोमा ५१.८७ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसले ३ सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्छ । १६७ किलोवाटको डीसी फास्ट चार्जरबाट यसको ब्याट्री केबल १८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६० न्युटन मिटर टर्क प्रदान गर्छ । १९० एमएमको ग्राउण्ड क्लियरेन्स भएकाले यो एसयूभी जस्तोसुकै कच्ची सडकमा पनि सहजै चलाउन सकिन्छ ।

यसमा भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । प्रिमियम अनुभव दिने यसको क्याबिनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । यसमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । साथै, यसमा ५० वाटको वायरलेस चार्जर, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड, वान टच रियर सिट फोल्ड लगायत सुविधा छ ।

यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, एबीएस, ईबीडी, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल लगायत सुविधा भएको एडास फिचर छ ।

यस्तो आर्कफक्स टी वान

गत नाइमा मोबिलिटी एक्स्पोमा लन्च आर्कफक्स टी वान ४० लाख मुनि कार खोज्नेलाई एउटा उत्कृष्ट विकल्प हो । किफायति मूल्य, ब्राण्ड लिगेसी, मोटर पावर, ब्याट्री, साइज, फिचरका आधारमा यसलाई भ्यालु फर मनि कार मान्न सकिन्छ ।

लक्ष्मी मोटरहबले प्रिमियम र फिचरलोडेड क्रसओभर एसयूभी आर्क फक्स टीवानको एलभी २ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी ३ भेरियन्टको ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

१८ इन्चको स्पोर्टी अलोय ह्वील रहेको आर्कफक्स टीवानको लम्बाइ ४३३७ एमएम, चौडाइ १८०५ एमएम, उचाइ १५७३ एमएम र ह्वीलबेस २७५० एमएम लामो रहेको छ ।

आर्कफक्स टी वानमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । १८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ ।

यसमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यो कारलाई डीसी फास्ट चार्जिङबाट केबल २५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसको क्याबिनमा १५.६ इन्चको एचडी चटस्क्रीन, ६ स्पीकर सिस्टम, भ्वाइस कन्ट्रोल, इजिलिंक, एप्पल कार प्ले, अगाडि ६६ वाटको सुपर चार्जर, पछाडि २७ वाटको यूएसबी टाइप सी चार्जिङ पोर्ट, हिटेडरभेन्टिलेटेड सिट छ ।

यसमा क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङसहित विभिन्न सुविधा भएको एडास फिचर छ । साथै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिटबेल्ट रिमान्डर, एबीएस, ईबीडी, ईएसपी, ४ वटा एयरब्याग, हिल कन्ट्रोल, फ्रन्टररियर पार्किङ सेन्सर, रिभर्स पाथ ट्रेस लगायत सेफ्टि फिचर छन् ।

चेरी क्यू

नाइमा मार्फत नै नेपाल भित्रिएको क्रसओभर एसयूभी चेरी क्यू इन्ट्री लेभल कार खोज्नेलाई उपयुक्त नयाँ विकल्प हो । पर्फर्मेन्स, स्पेस, प्रिमियम इन्टेरियर, आधुनिक फिचर, फास्ट चार्जिङ क्षमताका आधारमा यो आफ्नो सेग्मेन्टमा अब्बल देखिन्छ ।

पायोनियर मोटोकर्पले दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा कम्फर्ट भेरियन्टको मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यसको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५६९ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ सिस्टम यसको प्रमुख विशेषता हो । यसमा ९० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ११५ न्युटन मिटर टर्क प्रदान गर्छ ।

यसमा ४१.२८ किलोवाट आवरको ब्याट्री रहने छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटर बढी रेन्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरबाट यो एसयूभी केबल १६.५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यसको क्याबिन निकै प्रिमियम र फिचर लोडेड छ । यसमा १५.६ इन्चको २.५ के फ्लोटिङ स्क्रीन, ओभल डिजाइनमै तयार भएको एसी भेन्ट, एआइमा आधारित भोइस कमाण्ड, क्वालकमको ८१५५ स्न्यापड्रायन चीप प्रयोग भएको छ । साथै, ५० वाटको वायरलेस चार्जर, मोबाइल कनेक्टिभिट, २५६ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट, भीटुएल सुविधा उपलब्ध छ ।

यसको स्टोरेज क्षमता पर्याप्त छ । यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ । १७५ एमएको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभीमा सुरक्षाका लागि ६ वटा एयर ब्याग, ५४० डिग्री सराउण्ड क्यामेरा, रिभर्सिङ सेन्सर, फ्रन्ट सेन्सर, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, हिल एसिस्ट र २१ बढी सुविधा भएको एडास फिचर छ ।

पन्च ईभी

नेपाली बजारमा सदावाहर मोडल पन्च ईभी पनि उत्कृष्ट विकल्प हो । पहिलाकोभन्दा सस्तो र सुविधा थपिएर आएको पन्च ईभीको फेसलिफ्टलाई पनि भ्यालु फर मनि मोडल मान्न सकिन्छ । डिजाइन, ब्राण्ड भ्यालु, देशव्यापी सर्भिस र चार्जिङ नेटवर्क, आधुनिक फिचर यसका बलिया पक्ष हुन् ।

सिप्रदी ट्रेडिङले पन्च ईभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । फेसलिफ्ट पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा पाइन्छ । जसले सिंगलचार्जमा २७५ देखि ३६५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

यसकाे क्याबिनमा  १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ । पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी सुविधा छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, ,३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।

यी बाहेक बीवाडी एटो वान, प्रोटोन इमास फाइभ, किया सिरोस ईभी, एमजी विण्डसर ईभी लगायत मोडल आकर्षक विकल्प हुन् ।


Back_to_top