काठमाडौं । शारडा ग्रुपले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुयाउने उद्देश्यले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
शारडा ग्रुपले बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लाका बासिन्दाको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
सोमबार ग्रुपका अध्यक्ष शिवरतन शारडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोग शारडा ग्रुप अन्तर्गतका पशुपति खाद्य तेल उद्योगको तर्फबाट ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीको तर्फबाट १० लाख रुपैयाँ सहयोग गरेको हो।
साथै, ग्रुपले तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमहरू समेत अघि बढाएको छ। आर्थिक सहयोगसँगै शारडा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ।
ग्रुपले गुडलाइफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ।
त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।
शारडा ग्रुपद्वारा प्रवद्र्धित कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग गरेको छ।
त्यस्तै, ग्रुपद्वारा प्रवद्र्धित शिवम् सिमेन्ट लिमिटेडले प्रभावित क्षेत्र मध्येको को एक गाउँको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ११ बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ।


