काठमाडौं । नेपाली बजारमा २ दर्जन बढी ब्राण्डका मोटरसाइकल बिक्री हुँदै आएका छन् । न्यूनतम २ लाखदेखि कारभन्दा महँगा मूल्यका पनि मोटरसाइकल पाइन्छ ।
बजारमा स्ट्रीट, एड्भेन्चर, नेकेड, स्पोर्टस लगायत सेग्मेन्टका मोटरसाइकल छन् । न्यूनतम १०० सीसीदेखि ८०० सीसीभन्दा ठूला मोटरसाइकल पनि बिक्री हुँदै आएका छन् ।
मोटरसाइकलको डिजाइन, पावर, फिचर, मूल्य लगायतका आधारमा ग्राहक पनि फरक फरक हुन्छन् । नेपालमा १५० देखि २५० सीसीसम्मका मोटरसाइकल सर्वाधिक बिक्री हुन्छन् । तीमध्ये २०० सीसीका मोटरसाइकलमा छुट्टै क्रेज देखिन्छ ।
नेपाली बजारमा ५ लाखभन्दा कम मूल्यमा उपलब्ध २०० सीसी सेग्मेन्टका मोटरसाइकलहरूमध्ये टीभीएस अपाचे आरटीआर २०० ४भी, बजाज पल्सर एनएस २०० र हिरो एक्सपल्स २०० ४भी सबैभन्दा चर्चित मोडल मानिन्छन् ।
यहाँ हामीले यी ३ मोटरसाइकलको तुलनात्मक विश्लेषण गरेका छौं ।
डिजाइन
यी तीनै मोडलका मोटरसाइकल छुट्टाछुट्टै डिजाइनमा पाइन्छ । आरटीआर २०० फोर भी निकै आक्रामक, डाइनामिक रेसर डिजाइनमा छ । प्रोजेक्टर हेडलाइट एग्रेसिभ डिजाइन र स्पोर्टी ग्राफिक्स यस मोटरसाइकलको आकर्षक हो।
पल्सर एनएस २०० स्ट्रिट फाइटर र नेकेड डिजाइनमा रहेको छ । यसको ट्यांक र पोजिसनिङ हेडलाइट सेटअपले एग्रेसिभ मस्कुलर लुक्स देखिन्छ ।

एक्सपल्स २०० फोर भी एड्भेन्चर डिजाइनमा छ । गोलाकार हेडलाइट सेटअप, उत्कृष्ट एड्भेन्चर डीएनए, अग्लो सिट हाइट र ग्राउण्ड क्लियरेन्स डिजाइनले लामो र अफरोड यात्राको लागि धेरै सजिलो बनाउँछ ।
इन्जिन र पर्फमेन्स
नेपाली बजारमा तीनै मोटरसाइकल बीएस ६ एफआइ र बीएस ४ भेरियन्टमा पनि उपलब्ध छन् ।
पल्सर एनएसमा १९९.५ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम २३.५० पीएस पावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ । १३५ किलोमिटर प्रतिघण्टा टप स्पीड रहेको यस मोटरसाइकलमा ६ स्पीडको गिगरबक्स छ ।
आरटीआरमा १९७.७५ सीसी, सिंगल सिलिण्डर, आयल कुल्ड, ४ भल्भ, फोर स्ट्रोक, इन्जिन पाइन्छ । यसले अधिकतम २०.८२ पीएस पावर र २०.५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ । यस मोटरसाइकलको टप स्पीड १२७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
एक्सपल्समा पावर कम तर ट्रेल, ट्राभल फ्रेंड्ली र लो एन्ड टर्क ट्युनिङ गरिएको १९९.६ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, फोर स्ट्रोक, ओएचसी, इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम १९.१ पीएस पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि ५ स्पीडको गियरबक्स छ भने यसको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

माइलेज
तीन ओटै मोटरसाइकलले १ लिटर पेट्रोलबाट ३० देखि ४० किलोमिटरसम्मको माइलेज दिने कम्पनीहरूले बताएका छन् । आरटीआर र एनएसमा १२ लिटर र एक्सपल्समा १३ लिटरको फ्युल ट्याकं छ ।
ब्रेकिङ, सस्पेन्सन र डाइमेन्सन
सुरक्षालाई निकै मध्यनजर गरी कम्पनीहरूले मोटरसाइकलमा डबल डिस्कब्रेक, ट्युबलेस टायर, सिंगल च्यानल एबीएस, डबल च्यानल एबीएस (अप्सनल भेरियन्टमा), अलोय ह्वील, वायर स्पोक ह्वील (एक्सपल्समा) जस्ता मजबुत ब्रेकिङ सिस्टमहरू दिएका छन् ।
एक्सपल्सको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा १० स्टेपको एड्जस्टेबल मोनोसक ट्राभल सस्पेन्सन सेटअप छ । साथै, एनएसमा यूएसडी टेलिस्कोपिक फोर्क, टेलिस्कोपिक एन्टि फ्रिक्सन नाइट्रोक्स मोनोसक र आरटीआरमा एड्जस्टेबल प्रिलोड हाइड्रोलिक टेलिस्कोपिक फोर्क, कर्ब हाइड्रोलिक मोनोसक सस्पेन्सन सेटअप रहेको छ । यी मोटरसाइकलमा सस्पेन्सन पनि भेरियन्ट अनुसार फरक छ ।
तीनै मोटरसाइकलको कुल तौल १५२ किलोग्राम रहेको छ । एक्सपल्स र आरटीआरकै सिट हाइट ८०० एमएम र ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । त्यस्तै, एनएसको तौल १५२ देखि १५८ किलोग्रामसम्म छ यसको सिट हाइट ८०५ एमएम, ग्राउण्ट क्लियरेन्स १६८ एमएम रहेको छ ।
अन्य फिचर
आरटीआरमा एन्टि रिभर्स टर्क स्लिपर क्लच, क्लिप अन ह्याण्डलबार, डबल ब्यारल एग्जस्ट, स्प्लीट सिट, ग्याब रेल, स्मार्ट कनेक्ट सिस्टम, इन्फो कन्ट्रोल स्वीच र मल्टि राइड मोड छन् ।

एक्सपल्समा क्लोज लुप ह्यान्ड गार्ड, मल्टि टेरेन एबीएस मोड, लगेज प्लेट, ब्ल्यास प्लेट, डबल पर्पस टायर, गियरिङ रेसियो अप स्वेप्ट एग्जस्ट र ठूलो स्प्रोकेट रहेको छ ।
एनएसमा अन्डर बेलि एग्जस्ट, इन्जिन काउल, डिजिटल इग्निसन सिस्टम, पावर टु वेट रेसियो लगायतका फिचरहरू छन् ।
मूल्य
बजाज एनएस २०० र टीभीएस अपाचे आरटीआर २०० फोरभी दुवै मोटरसाइकलको सुरूवाती मूल्य समान ३ लाख ९३ हजार ९०० रुपैयाँ रहेको छ ।
यी दुईको तुलनामा एक्सपल्स केही महँगो छ । हिरो एक्सपल्स २०० फोरभीको सुरुवाती मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । डबल पर्पस एड्भेन्चर सेग्मेन्टमा भएका कारण यो मोटरसाइकल अन्य दुई मोडल भन्दा महँगो भएको हो ।
निष्कर्ष
यदि तपाईं स्पोर्टी, निकै आधुनिक टेक सुविधाहरू र धेरै सुरक्षा फिचरहरू भएको मोटरसाइकल किन्न चाहनुहुन्छ भने आरटीआर उपयुक्त देखिन्छ । तपाईंले २०० सीसीमा धेरै पावर भएको मोटरसाइकल खोज्दै हुनुहुन्छ भने पल्सर एनएस उत्कृष्ट विकल्प हुनसक्छ ।
धेरै घुमफिर गर्ने, अफरोड र एड्भेन्चर राइड गर्न रुचाउनेका लागि मूल्य पावर र फिचरका हिसाबले एक्सपल्स २०० भरपर्दो मोटरसाइकल हो ।


