काठमाडौं । चाडवाड मनाउन पछिल्लो ५ दिनमा मात्रै काठमाडौं उपत्यकाबाट झण्डै २ लाख यात्रु बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म उपत्यकाबाट १ लाख ८९ हजार २१८ यात्रु बाहिरिएका हुन् ।
यो संख्या सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुको मात्र हो । उनीहरू २९ हजार ३६० सार्वजनिक यातायातमा उपत्यकाबाट बाहिरिएका हुन् ।
कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन्।
यसवर्ष उपत्यकाबाट बाहिरिने सडकको अवस्था भने खराब रहेको छ । अधिकांश सडक स्तरोन्नति तथा विस्तारका क्रममा रहेकाले यात्रुले सास्ती भोग्नुपर्ने अवस्था छ । साथै, पहिरोका कारण पनि अवरुद्ध भइरहेका छन् ।

