काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने भएको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले विगत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य असोज ७ गते हुने जानकारी दिए ।
उनले एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको बताएका छन् ।
‘पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दैछौं,’ मेयर शाहले भनेका छन्, ‘एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको हो । हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’
उनले पालिका छनोटको मापदण्ड समेत सार्वजनिक गरेका छन् ।

