काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड (आरएनपी-एआर) प्रणाली लागू गरिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आरएनपी-एआर प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको हो ।
आगामी ४ महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
उनले ‘आरएनपी-एआर’ प्रणाली लागू भएपछि कम भिजीबिलिटी हुँदा पनि हवाई उडान–अवतरण हुने बताए । उक्त प्रणाली संचालनका लागि जहाजमा पनि सोहीअनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ ।
अहिले पोखरामा ३ हजार १०० मिटर भिजिबिलिटीमा विमान उडान तथा अवतरण भइरहेका छन् । आरएनपी-एआर प्रणाली लागू भएपछि २ हजार मिटर भिजिबिलिटीमै उडान हुने उनले बताए ।
‘आरएनपी-एआर प्रणालीको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो । हाल ३१०० मिटरमा विमान उडान हुने गरेकोमा नयाँ प्रणाली राखिएपछि २ हजार मिटिरमै उडान गर्न सकिन्छ । यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ,’ उनले भने।
हाल पोखरा विमानस्थलमा ‘भीओआर/डीएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । आरएनपी–एआर प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ । आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ ।
यसबाट हवाई उडान संचालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान संचालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।

