आयल निगमलाई १५ दिनमै साढे ३ अर्ब घाटा हुने

काठमाडौं । नेपाल आयल निगमलाई आगामी १५ दिनमा करिब साढे ३ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।

भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आए पनि नेपालमा सोही अनुसार समायोजन नगर्दा आगामी १५ दिनमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको हो ।

भारतबाट मूल्य बढेर आए पनि चाडवाड र उपभोक्तको हितलाई मध्येनजर गर्दै हाललाई पुरानै बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार हाल पेट्रोल मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २४९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ (काठमाडौं) प्रतिकिलोलिटर १६९७ अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०६० रुपैयाँ तोकिएको छ ।


Back_to_top