काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले आफ्नो दोस्रो पुस्ताको रोडस्टरको नयाँ संस्करण सार्वजनिक गरेको छ । सार्वजनिकपछि गरिएको प्रदर्शन निकै अनौठो थियो ।
अमेरिकाको टेक्सासमा रहेको म्याकग्रेगरमा आयोजित कार्यक्रममा कारलाई सक्सन फ्यानको सहायताले उल्टो अवस्थामा ¥याम्पमा गुडाइएको थियो । त्यसपछि कारले हावामै ३६० डिग्रीको रोल गर्दै पुनः सिधा अवस्थामा अवतरण गराइएको थियो ।
टेस्लाले सन् २०१७ मा दोस्रो पुस्ताको रोडस्टर देखाउँदै सन् २०२० देखि बिक्री थालने घोषणा गरेको थियो । तर, पटकपटक ढिलाइ हुँदै आएको यो कार अब सन् २०२८ बाट भने बिक्रीको लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले रोडस्टरमा प्रयोग हुने विशेष थ्रस्टर प्रणालीले कारलाई रकेटजस्तै उफ्रिन र हावामा विभिन्न किसिमका स्टन्ट गर्न सक्षम बनाउने बताए ।
कम्पनीका अनुसार यसमा १० वटा नोजल र प्रोपल्सनका लागि २५० किलोग्राम कम्प्रेस्ड ग्यास प्रयोग गरिनेछ । कारमा रहेको सक्सन फ्यान प्रणालीले २जीसम्मको डाउनफोर्स सिर्जना गर्न सक्ने टेस्लाको दाबी छ ।
यसले ट्र्याकमा कारको पकड र कर्नरिङ क्षमता बढाउने कम्पनीको भनाइ छ । मस्कका अनुसार रोडस्टरले शून्यदेखि १०० किलोमिटरको स्पीड १ सेकेन्डमै भेट्टाउने छ ।
टेस्ला रोडस्टरको उच्च गति भने ३७० किलोमिटर प्रतिघण्टाभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । रोडस्टर मोडल तीन भेरियन्टमा उपलब्ध हुने बताइएको छ ।
यसको पर्फर्मेन्स भेरियन्टमा सक्सन फ्यान, थ्रस्ट भेरियन्टमा तीव्र गति हासिल गर्ने थ्रस्टर प्रणाली र रकेट भेरियन्टमा १० थ्रस्टरको विशेष व्यवस्था हुनेछ । रकेट भेरियन्ट भने विशेष ब्यक्तिलाई निम्तो दिएर मात्रै बिक्री गरिने कम्पनीले जनाएको छ ।
बुकिङका लागि १० दिनभित्र फिर्ता गर्न मिल्ने ५० हजार अमेरिकी डलर धरौटी आवश्यक पर्ने बताइएको छ । यद्यपि, टेस्लाले कारको मूल्य, रेन्ज र सडकमा थ्रस्टर प्रणाली प्रयोग गर्न कानुनी अनुमति पाइने विषय स्पष्ट पारेको छैन ।

