काठमाडौं । बीवाइडीले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै ल्याएको ‘थ्री रो’ एसयूभी ५ मिनेटमै १० देखि ७० प्रतिशतसम्म चार्ज गर्न सकिनेगरी बजारमा आएको छ ।
पेरिस मोटर शो २०२६ मा लन्च गरिएको एटो-८ तीव्र चार्जिङ क्षमता भएको एसयूभी हो । कम्पनीका अनुसार यसमा ११५ किलोवाट आवर क्षमताको सेकेन्ड जेनेरेसन ब्लेड ब्याट्री दिइएको छ । यसले डब्लूएलटीपी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा करिब ६५२ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
यसको सबैभन्दा आकर्षक पक्ष चार्जिङ गति हो । सामान्य वातावरणीय तापक्रममा उपयुक्त फ्ल्यास चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट लाग्ने बीवाइडीले दाबी गरेको छ । थप ४ मिनेटमा ब्याट्री ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अत्यधिक चिसो, माइनस २२ डिग्री फरेनहाइट तापक्रममा समेत चार्जिङ समय १२ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
एटो-८ रियर ह्विल ड्राइभ र डुअल मोटर अल ह्विल ड्राइभ गरी दुई विकल्पमा उपलब्ध हुनेछ । रियर ह्विल ड्राइभ संस्करणले धेरै रेन्ज दिन्छ । अल ह्वील भेरियन्टको रेन्ज ६०२ किलोमिटर हाराहारी छ ।

