काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता होण्डाले २५० सीसी इन्जिनमा नयाँ स्क्रयाम्बलर मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गरेको छ ।
कम्पनीले चीनको चोङछिङमा आयोजित ‘सीआईएमए’ मोटरसाइकल ट्रेड शोमा नयाँ सीबी २५० एसएस स्क्रयाम्बलर मोटरसाइकलको कन्सेप्ट देखाएको हो ।
होण्डाले सीबी २५० एसएस स्क्रयाम्बलर नाम दिएर पहिलो पटक देखाएको यो मोटरसाइकल नियो–रेट्रो डिजाइन, आकर्षक रङ संयोजन र रग्ड लुकमा आधारित छ ।
हाल यो मोटरसाइकल कन्सेप्ट चरणमा मात्र छ । यसको उत्पादन संस्करण कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक जानकारी दिएको छैन । साथै, यो मोटरसाइकल चीनमा मात्र बिक्री हुनेछ वा अन्य अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
होण्डाको नयाँ कन्सेप्ट स्क्रयाम्बलरमा क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजन देख्न सकिन्छ । यसको अगाडिको भागमा चारवटा एलईडी प्रोजेक्टर युनिटसहितको गोलाकार हेडलाइट दिइएको छ । हेडलाइटको अगाडि गार्ड राखिएको छ, जसले मोटरसाइकललाई थप रग्ड लुक प्रदान गर्छ ।
यसको टियरड्रप आकारको फ्युल ट्यांकीमा सेतो रङसँगै रातो स्ट्राइप र सीबी २५० एसएस् ब्रान्डिङ दिइएको छ । अगाडिको सानो फ्लाइस्क्रीन तथा मडगार्डमा पनि रातो र सेतो रङको आकर्षक संयोजन देख्न सकिन्छ ।
मोटरसाइकलको साइड प्यानल कालो रङमा तयार गरिएको छ भने गियरबक्स कभर र अगाडिको अपसाइड डाउन युएसडी फ्रन्ट फोर्कमा सुनौलो फिनिस दिइएको छ । ब्राउन रङको रिब्ड सिटमा होन्डाको ब्राण्डिङ राखिएको छ । साथै, सेतो रेडिएटर गार्ड, बलियो देखिने ब्यास प्लेट, ब्लक प्याटर्नका डुअल पर्पस टायर, अलोय ह्वील र माथितिर उठाइएको डबल ब्यारेल शैलीको एक्जस्टले यसको स्क्रयाम्बलर पहिचानलाई थप बलियो बनाएको देखिन्छ ।
यो कन्सेप्ट मोटरसाइकलमा जापानी बजारमा उपलब्ध होण्डा रेबेल मोडलमा प्रयोग हुने २४९ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिइएको अनुमान गरिएको छ । यो इन्जिनले अधिकतम २६ बीएचपी र २२ एनएम टर्क उत्पादन गर्छ । यद्यपि, यही इन्जिन र समान पावर आउटपुट प्रयोग हुने विषयमा होन्डाले आधिकारिक पुष्टि गरेको छैन ।
मोटरसाइकलको डिजाइनमा क्लासिक शैलीसगैँ आधुनिक प्रविधिलाई पनि प्राथमिकता दिइएको छ । यसमा गोलाकार टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । जसमा होण्डा रोडसिंक जेन टू कनेक्टिभिटी प्रणाली उपलब्ध हुने बताइएको छ । यस प्रणालीमार्फत नेभिगेसनसहित विभिन्न कनेक्टेड फिचर प्रयोग गर्न सकिनेछ ।
यद्यपि, कम्पनीले नयाँ मोटरसाइकलको वास्तविक क्षमता, अफरोड प्रदर्शन, फिचर र बजार उपलब्धता लगायत विषयमा हालसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन ।

