काठमाडौं । बजारमा मोटरसाइकलको मूल्य तिब्र गतिमा बढी रहेको छ । तिब्र मूल्य वृद्धिको बाबजुद धेरै ग्राहकले नयाँ मोटरसाइकलमा ध्यान दिएको देखिदैन । यस्तै एउटा मोटरसाइकल हो, हिरो एक्सट्रीम १६० आर ।
नेपाल जनरल मार्केटिङ प्रालिले एक वर्षअघि नेपाल ल्याएको एक्सट्रीम १६० आरले सोचे जस्तो ब्यापार गर्न सकिरहेको छैन । यो सेग्मेन्टमा नै पहिलो पटक बीएस सिक्स इन्जिनमा आएको एक्सट्रीम १६० आरमा रहेको सेग्मेन्ट लिडर फिचरले पनि यसको विक्रीलाई बढाउन सकेन ।
अहिले यही हाराहारीको मोटरसाइकलको मूल्य ३ लाख ८० हजार रुपैयाँ पुगिसकेको छ । जुन मूल्यको हिसावले ३७ हजारसम्मले कम हो । एनजीएमले हिरो एक्सट्रीम १६० आरको मूल्य ३ लाख ४३ हजार ५०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।
हिरो एक्सट्रीम १६० आर सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल हो । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ । कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले अधिकतम ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको छ ।
हिरो एक्सट्रीम १६० आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध छन् । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।