दुई इलेक्ट्रीक हाइरुफ माइक्रोमा कुन किन्दा राम्रो ? यस्ता छन् फरक

काठमाडौं । सार्वजनिक सवारीमा इलेक्ट्रीक साधनको प्रयोग भएपछि मात्रै वातावरण र इन्धन बचतमा ठोक काम हुने विज्ञहरुको भनाइ छ । त्यसैको सेरोफेरोमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढ्न थालेको हो ।

अहिले देशका मुख्य सहर र छोटो दुरीको यात्रामा इलेक्ट्रीक भ्यानहरुको प्रयोग बढ्न थालेको छ । नेपाली बजारमा दिगोले सबैभन्दा पहिले डीएफएसके ब्राण्डको डाँफे मोडल नेपाल ल्याएको थियो । पछि डाँफेलाई पछ्याउदै चौधरी ग्रुपले केवाईसी, एमएडब्लु ग्रुपले फोटन, विसाल ग्रुपले एसआरएम ब्राण्डका माइक्रो भ्यान ल्याए ।

यी गाडी सबै ११ सिट क्षमता र २ मिटर अग्ला थिए । अहिले विपी हाइबेदेखि छोटो दुरीका हाइवेमा यी गाडी प्रसस्तै छन् । करिब १३ सयको संख्यामा रहेको यी माइक्रो भ्यानले दैनिक हजारौ लिटर डिजेल र लुब्रिकेन्ट बचाएका छन् भने नेपालमा उत्पादित विजुली प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समयमा सहरी क्षेत्रमा पनि विद्युतीय माइक्रो बसहरु संचालन हुन थालेका छन् । सहरी क्षेत्रमा संचालन हुने यस्ता माइक्रो बसहरुमा कहिले काहिँ उभिएर पनि यात्रा गर्नु पर्ने भएकोले ‘हाइरुफ’ मोडलको खोजी हुने गरेको छ ।

यो सेग्मेन्टमा सिजी मोटर्सले किङलङ ब्राण्डको माइक्रो बसको बिक्री गर्दै आएको छ । हालै मात्र एमएडब्लू वृद्धिले फोटोनको हाइरुफ माइक्रोबस लन्च गरेको छ । लामो समयदेखि कमर्शियल गाडीको बिक्री गर्दै आएको शशिला मोटर्सले पनि हाइगर ब्राण्डको हाइरुफ माइक्रो बस छिटै बिक्री सुरु गर्ने तयारी थालेको छ ।

यस्तोमा अहिले बिक्री चलिरहेको किङलङ र फोटोन ब्राण्डका माइक्रो भ्यानमा रहेका भिन्नतालाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

उत्पादक कम्पनी

किङलङ सन् १९८८ मा चीनमा स्थापना भएको बस उत्पादक कम्पनी हो । यो कम्पनीले ठूला, मझौला बसहरु र लाइट भ्यानहरु उत्पादन गर्दै आएको छ । हाल किङलङले ५ फरक सिरिजका ५० भन्दा धेरै मोडलहरु उत्पादन गरिरहेको छ ।

किङलङले आफ्नो उत्पादनको २५ प्रतिशत चीनभन्दा बाहिरका ३० भन्दा बढि देशहरुमा बिक्री गर्दै आएको छ ।

फोटोन चीनको ठूलो कमर्शियल भेहिकल निर्माता कम्पनी हो । फोटोनले हेवी कमर्शियल तथा लाइट कमर्शियल भेहिकलको धेरै रेन्जका सवारी साधनहरु उत्पादन गर्दै आएको छ ।

फोटनको जर्मन अटोमोवाइल ब्राण्ड ड्याम्लर अटोमोवाइल ग्रुप तथा विश्व प्रशिद्ध डिजेल इन्जिन उत्पादक कमीन्ससँग पार्टनरशिप गर्दै आएको छ । फोटोनको आर एण्ड डी सेन्टरहरु भारत, जर्मनी, ताइवान, फिलीपीन्स लगायत चीनको विभिन्न सहरमा छन् ।

डायमेन्सन

हेर्दा उत्रै देखिने यी दुबै ईभीहरु लगभग समान साइजका रहेका छन् । किङलङको हाइरुफ माइक्रो बसको लम्बाई ५३४०, चौडाई १७०० र उचाई २२८५ एमएम छ ।

त्यस्तै फोटन हाइरुफ माइक्रो बसको लम्बाई ५३२०, चौडाई १६९५ र उचाई २२८० एमएमको रहेको छ । दुबै ईभीको समान १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

मोटर तथा ब्याट्री

दुबै माइक्रोबसमा समान ५०.२३ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ । किङलङले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

यसमा रहेको ब्याट्री प्याकलाई डिसी फास्ट चार्जरले २० बाट ८० प्रतिशत चार्ज गर्न ४५ मिनेछ लाग्छ । ७ किलोवाटको एसी चार्जरले फुल चार्ज गर्न ८ घण्टा लाग्ने कम्पनीको भनाइ छ ।

फोटोनको हाइरुफले एक पटकको फुल चार्जमा २३५ किलोमिटरको एनइडीसी रेन्ज दिने बताएको छ । यसलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा शून्यबाट १०० प्रतिशत रिचार्ज गर्न ९० मिनेट लाग्छ । ७ किलोवाटको एसी चार्जरले ७ घण्टा ३० मिनेटमा फुल चार्ज गर्छ ।

किङलङको ईभीमा रेगुलर कमर्शियल भ्यानमा हुने जस्तो जीबीटी चार्जिङ पोर्ट छ । फोटोनको ईभीमा भने पर्सनल भेहिकलको जस्तो सीसीएस२ चार्जिङ पोर्ट छ ।

किङलङमा ८० किलोवाटको रियर माउण्टेड मोटर छ । यसले १०७ हर्सपावर तथा ३१० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै फोटोनमा ८५ किलोवाटको रियर माउण्टेड मोटर रहेको छ । यसले ११४ हर्सपावर तथा २९० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यी दुबै ईभीको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टासम्म छ ।

इन्टेरियर र फिचर

दुबैमा भ्यानमा एयर कण्डिसन र हिटरको सुविधा पाउन सकिन्छ । रिभर्स क्यामरा सहितको इन्फोटेन्मेन्ट स्कृन दुबैमा रहेको छ । दुबैमा फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । एबीएस र इबीडीको फिचर पनि समान छ । दुबै माइक्रो भ्यानमा प्रत्येक सिटमा सिटबेल्टको सुविधा रहेको छ ।

वारेन्टी अवधि

वारेन्टीको तुलना गर्दा किङलङमाभन्दा फोटनको १ लाख किलोमिटर धेरै रहेको छ । किङलङले ब्याट्री तथा मोटरमा २ लाख  किलोमिटर वा ५ वर्ष र फोटनले ३ लाख किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी दिएको छ ।

सिट क्यापासिटी र मूल्य

किङलङको माइक्रो भ्यान १४ सिट क्षमताको रहेको छ । यसको मूल्य ५६ लाख ५० हजार तोकिएको छ । त्यस्तै फोटनको माइक्रो भ्यान १५ सिट क्षमताको रहेको छ । यसको मूल्य ५७ लाख रहेको छ ।


Back_to_top