काठमाडौं । दुई वर्ष अघिसम्म भारतीय बजारमा सार्वजनिक भएको नयाँ पेट्रोल कार कहिले नेपाल आउँछ भन्ने चासो गाडी किन्नेलाई हुन्थ्यो । तर, पछिल्ला दुई वर्षमा नै पेट्रोल कारको बहस कमजोर भएको छ ।
रि-कन्डिसनदेखि नयाँ गाडीको शोरुमसम्म ईभी कै चर्चा हुन्छ । त्यसलाई हाम्रो बजारमा भएको बिक्री तथ्यांकले पनि पुष्टि गर्छ । चालु आर्थिक वर्षको ५ महिनाको आयात तथ्यांक अनुसार नै ईभीको हिस्सा ६५ प्रतिशत माथि पुगिसकेको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने इन्टरनल कम्बस्चन इन्जिन भएका नयाँ मोडलहरु नेपाल आउने चर्चा नै कम हुन थालेको छ । उसोत उत्पादकहरु पनि ईभीमा नै केन्द्रित भएको कारण नयाँ पेट्रोल कारको चर्चा कमजोर भएको हो ।
सन् २०२४ को सुरुवातसँगै अहिले बजारमा रहेका थुप्रै मोडल नयाँ वर्षमा केही न केही अपग्रेड भएर त आउँछन् । तर, अल न्यू मोडल भने खासै आउने क्रममा देखिएका छैनन् ।
सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले भारतमा बिक्री हुँदै आएका अधिकांश मोडल नेपाल ल्याइसकेको छ । कम्पनीले सन् २०२३ मा नयाँ सेलेरियो, ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा, नयाँ ब्रेजा, ५ ढोका भएको जिम्नी र फ्रङक्स क्रसओभर मोडल नेपाल ल्याएको थियो ।
महिन्द्राले बोलेरो नियो एसयूभी नेपाल ल्याउन सक्ने छ । यो मोडल अघिल्लो वर्ष नै टीयूभी ३०० लाई अपग्रेड गरेर तयार पारिएको थियो । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले पनि २०२३ मा आफ्नो चर्चित मोडल स्कर्पियो एन, एक्सयूभी ७०० र स्कर्पियो क्लासिक ल्याएको थियो ।
हुन्डाई एक्सटर माइक्रो एसयूभी फेब्रुअरीमा नेपाल आउने छ । सानो साइजको एसयूभी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाडा अटो शो २०२३ मा देखाएको थियो ।
निसानले अपग्रेड भएको म्याग्नाइट २०२४ मा नेपाल ल्याउने छ । म्याग्नाइटको अपडेट (फेसलिफ्ट) मोडल भारतमा आउने तयारी भइरहेको छ । आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले केही दिन अघिबाट मात्रै इ-पावर एक्सट्रायल नेपालमा बिक्री सुरु गरेको छ ।
टाटाले पेट्रोलमा नयाँ मोडल तत्काल नेपाल ल्याउने देखिदैन । सिप्रदी ट्रेडिङले सन् २०२३ मा पन्च पेट्रोल बिक्री सुरु गरेको थियो । फक्सवागेनसँग नयाँ सेडान कार भर्टुस भारतमा भएपनि नेपाल ल्याउने सम्भावना कम छ ।
यी ब्राण्डका अलावा ग्रेटवाल, चेरी, स्कोडा, फोर्ड, सुबरु, जस्ता ब्राण्डको तत्काल नयाँ मोडल ल्याउने योजना बाहिर आएका छैनन् । सम्भवत टोयोटाले नयाँ मोडल ल्याउने छ ।

