‘अफरोड मेशिन’ जीपबारे १० रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

काठमाडौं । विश्व अटोमोबाइल बजारमा जीप ब्रान्डले अहिले यस्तो सफलता चाखिराखेको छ । यस्तो सफलता निकै थोरै अटो निर्माताले मात्र अनुभव गर्न पाउँछन् । सन् २०१४ मा १० लाख युनिट जीप विक्री भएको थियो तर, त्यसको पाँच वर्षपछि यो संख्या करिब दुई गुणाले बढेर २० लाख पुगेको छ । यो सफलताको कारण विविध कारण होलान्, तर मुख्य कारण ‘ब्रान्डिङ’ हुनसक्छ ।

स्थापनादेखि नै जीप ‘फन’, ‘कूल’ र ‘क्यापेबल’ अफरोड मेसिनको पर्याय बन्यो । जीप ट्रेलको लागि गज्जब मात्र छैन, राजमार्गमा उत्तिकै आरामदायी पनि छ । अमेरिकामा उदय भएको यो बहुउपयोगी जीपको नाम अमेरिकी इतिहासमा गर्वका साथ उल्लेख गरिएको छ । सेनाले संसारकै पहिलो प्रोटोटाइप जीप परीक्षण गरेको ८० वर्षपछि पनि यो ब्रान्ड किस्सा, मिथक र रहस्यले घेरिएको छ ।

युद्धको लागि बनाइएको थियो, जीप

सन् १९४० सम्म पनि अमेरिका युद्धमा होमिएको थिएन । दोस्रो विश्वयुद्धले रापले युरोप, एसिया र अफ्रिकालाई छोइसक्दा पनि अमेरिका भने युद्धको तयारी गरिरहेको थियो । अमेरिकालाई यस्तो कठोर र क्षमतायुक्त बुहउपयोगी गाडीको खाँचो थियो, जसले युद्धको कठिनाइलाई सजिलै सामना गर्न सकोस् र अमेरिकी सेनालाई विश्वमै तीव्र र छरितो युद्धदस्तामा परिणत गर्न सकोस् ।

उसले यसका लागि त्यो बेला अमेरिकामा कार्यरत एक सय ३५ वटा अटो निर्मातालाई आवेदन दिन आह्वान गर्‍यो तर, मात्र तीन वटा कम्पनी–बान्टम, विलिस ओभरल्यान्ड र फोर्डले सेनाले तोकेको समयसीमा र मापदण्डमा प्रोटोटाइप गाडी बनाउन सके ।
सेनाका जनलरहरुलाई विलिसले निर्माण गरेको ‘क्वायड’ नाम दिइएको ले प्रभावित पार्‍याे र यहिँ गाडीलाई सन् १९४१ मा विलिस एमबीमा मोडिफाई गरियो । पर्ल हार्वरमा भएको आक्रमणसँगै अमेरिका युद्धमा होमियो र जीपको प्रशंसा चारैतिर हुन थाल्यो ।

दुई दिनमा भएको थियो जीपको डिजाइन

सेनाले ‘प्रोटोटाइप’ गाडी बनाउन अटोनिर्माताहरुलाई ४९ दिनको सीमा दिएको थियो । बान्टम कम्पनीका इन्जिनियर कार्ल प्रोस्टले दुई दिन र दुई रात काम गरेर पहिलो ‘प्रोटोटाइप’ जीपको डिजाइन बनाएका थिए । अर्को दिन उनले यसको निर्माणमा लाग्ने खर्चको आँकडा दिए । चौथो दिनमा उनले सेनालाई ब्लुप्रिन्टसहितको अन्तिम कोटेशन नै दिए, यो अटोमोवाइल इतिहासमा नै सर्वाधिक छिटो भएको डिजाइन थियो ।

युएस क्यापिटलमा चढेको थियो जीप

सन् १९४१ को फेब्रुअरीमा वासिंगटन डेली न्युजमा जीपले युएस क्यापिटलको खुड्किला चढिरहेको फोटो प्रकाशित गरेको थियो । जीपको अफरोड क्षमता प्रदर्शन गर्न युएस सिनेटर र सैनिक अधिकारीलाई राखेर विलिस ओभरल्यान्डले त्यहाँ स्टन्ट देखाएको थियो । डेली न्युजका रिपोर्टरले त्यसका ड्राइभरलाई यो अनौठो मेसिनलाई के भनिन्छ भनेर सोध्दा उनले ‘यो जीप हो’ भनेका थिए । पछि विलिसले बनाएको ‘क्वाड’लाई ‘जीप’ भन्न थालिएको कथन छ ।

जीपको नामको रहस्य

सेनालाई उपलब्ध गराएको ‘ओरिजिनल प्राटोटाइप’ गाडीलाई ‘जे ई ई पी’ भनियो । जीपको नाम कसरी जीप रहन गयो भन्नेमा धेरै विश्वासहरु छन् तर, त्यसमध्ये धेरै विश्वासिला छैनन् । सेनाले यो विशेष गाडीलाई ‘जनरल पर्पस’ वा ‘गभरर्मेन्ट पर्सस’को छोटो स्वरुप ‘जीपी’ भनेको र पछि अपभ्रंम्ष भएर ‘जीप’ भएको कथन पनि छ ।

जीपलाई पर्पल हार्ट सम्मान

‘ओल्ड फेथफुल’ उपनाम दिइएको एउटा जीपलाई जलसेनाले दोस्रो विश्युद्धताका गुआडालक्यानल र बोगेनभिल्ला हमलामा प्रयोग गरेका थिए । युद्धमा चोट लागेका बहादुर सैनिक जवानलाई दिइने पर्पल हार्ट पुरस्कार पहिलो पटक जीपलाई दिइयो । यो जीपको विनशिल्डमा दुई वटा गोलीको छेड लागेको थियो । पछि मरिन कप्र्स म्युजियममा राखिएको ‘ओल्ड फेथफुल’ त्यहाँबाटै गायब भयो जुन अहिलेसम्म पनि फेला परेको छैन ।

किसानका लागि बनेको थियो सीजे सिरिज

दोस्रो विश्वयुद्धपछि विलिस एमबीलाई नागरिक प्रयोजन मिल्ने गरी सिजेमा परिणत गरियो । मेकानिकल वर्कहर्सका रुपमा प्रयोग गर्न यसमा व्यापक परिवर्तन गरिएको थियो । त्यो बेला अमेरिकामा रहेका ५५ लाख किसानमध्ये ४० लाखसँग ट्रयाक्टर पनि थिएन र ट्रक पनि थिएन । त्यसैले किसानले आफ्नो काममा सीजे प्रयोगमा ल्याए । ‘सीजे’ सिभिलियन जीपको छोटो रुप हो ।

हुलाकमा प्रयोग गरिन्थ्यो जीप

सन् १९८४ बाट अमेरिकी हुलाक सेवाले ग्रम्यान लंग लाइफ भेहिकललाई हुलाक ढुवानी सेवामा प्रयोग गर्न थाल्यो । त्योभन्दा अघि हुलाकी सेवामा सन् ५० को दशकदेखि जीप डिजे (डिस्प्याचर जीप) प्रयोग हुन्थ्यो ।

पहिलो लक्जरी एसयूभी थियो ग्रान्ड वागनर

जीप ग्रान्ड वागनरले लक्जरी एसयूभी सेग्मेन्टको सुरुवात गरेको थियो, रेन्ज रोभर जन्मनुभन्दा एक दशक अघि नै । सन् १९६३ मा सार्वजनिक गरिएको ग्रान्ड वागनर तीन दशकको अवधिमा निकै थोरै मात्र परिवर्तन गरिएको थियो । सन् १९९१ मा उत्पादन रोकिएयो यो प्रिमियम एसयूभीको उत्पादन जीपले पुनः सन् २०२२ बाट गर्ने भएको छ ।

‘जीप बेभ’

ह्याट् लगाएका मानिसहरु मात्र एकअर्कालाई ‘वेब’ गर्दैनन् । जीप चालकले पनि एकअर्कालाई अभिवादन गर्छन् जसलाई ‘जीप बेभ’ भनिन्छ । बाटोमा एउटा जीपले अर्को जीपलाई भेट्दा स्टेरिङबाट एउटा हात वा दुई वटा औला उठाएर एकअर्कालाई वेभ गर्ने चलन छ । कतैकतै त ‘जीप बेभ’लाई स्थानीयकरण पनि गरिएको छ ।

र्‍यांग्लरमा वर्गाकार हेडलाइट !

सात वटा आइकनिक ग्रिल र दुई छेऊमा ठूला दुई वटा हेडलाइट । यहि स्वरुपले जीपलाई मानिसहरुले तुरुन्त पहिचान गर्छन् ।

सन् १९४५ मा बन्न थालेको सिभिलियन जीप ४० वर्ष बजारमा रह्यो । त्यसपछि सन् १९८६ मा सिकागो अटो सोमा पहिलो र्‍यांग्लर सार्वजनिक गरियो । तर सुरुको एक दशकमा र्‍यांग्लरमा वर्गाकार हेडलाइट थिए । र्‍यांग्लरलाई सिभिलियन जीपबाट छुट्याउन यसमा बक्स आकारको हेडलाइट प्रयोग गरिएको थियो । तर, पछि सन् १९९५ मा जीप र्‍यांग्लरमा त्यहि आइकनिक गोलो हेडलाइट प्रयोग गर्न थालियो ।


Back_to_top