नेपालमा भेन्यू र सोनेट बीच कडा प्रतिस्पर्धा, १० महिनामा ७७ यूनिट फरक

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाको सब फोर मिटर एसयूभी २०२१ को जनवरीदेखि अक्टोबरसम्मको आयातमा कडा प्रतिस्पर्धा गरिरहेको भन्सार तथ्यांकले देखाएको छ ।

हुन्डाई भेन्यू र किया सोनेट एउटै प्लेटफर्ममा तयार भएका गाडी हुन् । त्यसैले पनि यी दुबै गाडीमा रहेका फिचर पनि समान जस्तै छन् । तर, कियाले डिजेल इन्जिनमा आफुलाई केन्द्रित गरिरहेको छ भने हुन्डाईले पेट्रोल इन्जिनलाई प्राथमिकता दिएको पाइन्छ ।

सन् २०२१ लागेपछि यी दुबै गाडीको आयात राम्रो देखिन्छ । जनवरीदेखि अक्टोबरसम्म हुन्डाई भेन्यू ७२९ यूनिट आयात भएको छ भने किया सोनेट ६५२ यूनिट आयात भएको छ । यी दुई मोडलको बीच ७७ यूनिटको मात्रै फरक रहेको छ ।

यी दुई गाडीको सबैभन्दा ठूलो फरक भनेको डिजाइन हो । अगाडि र पछाडिको डिजाइन दुबैमा निकै ठूलो फरक पाउन सकिन्छ भने समान लम्वाई भएपनि चौडाई र उचाईमा किया सोनेट केही ठूलो रहेको छ ।

हुन्डाईले भेन्यूलाई कन्जर्भेटीभ डिजाइनमा बनेको भएपनि थुप्रै आकर्षण ल्याउने फिचर दिइएको छ । कियाले सोनेटलाई एग्रेसीभ लुक्स दिएको छ । रुफरेल, स्कीड प्लेट, बडी क्याडलिङ तथा समान १५ र १६ इन्चको ह्वील यी दुबै गाडीमा पाउन सकिन्छ ।

दुबै गाडीमा एउटै सस्पेन्सन पाउन सकिन्छ । अगाडि म्याकफर्सन स्ट्रुटको साथ क्वील स्प्रीङ र पछाडि कप्पल्ड टोर्सन बीमको साथ क्वील स्प्रीङ पाउन सकिन्छ । दुबै गाडीको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।

पावर स्टेरिङ, समान ५.१ मिटर टर्निङ रेडिएस, स्टील रिम, स्टील ह्वील दुबैमा दिइएको छ । ग्लोवल एनक्याप क्रयास टेष्टमा दुबै गाडी अहिलेसम्म परिक्षण भएको छैन । तर, अष्ट्रियन एनक्यापमा भने भेन्यूले ४ स्टार रेटिङ पाएको थियो । तर, त्यो नेपालमा विक्री हुने स्पेक भने होइन ।

दुबै कारमा अगाडि एयरव्याग दिइएको छ । ८० किलोमिटरको स्पीडमा अर्लट बीप र १२० किलोमिटरको स्पीडमा निरन्तर बीप दिइएको छ । यसले चालकलाई सचेत गराउने छ । एबीएस, इबीडी दुबै गाडीमा छ भने ब्रेक एसिस्ट भेन्यूमा पाउन सकिन्छ ।

इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, स्पीड सेन्सीङ डोर लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर दुबै गाडीमा उपलब्ध रहेको छ ।


Back_to_top