काठमाडौं । होण्डाको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर एक्टिभा भोलि (मंसिर १२ गते) सार्वजनिक हुने भएको छ । होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले भारतमै उत्पादन भएको होण्डा एक्टिभा सार्वजनिक गर्ने भएको हो ।
होण्डा एक्टिभा इलेक्ट्रीक होण्डा जापानले हालै इटालीमा सम्पन्न भएको मिलान अटो शो २०२४ मा प्रदर्शन गरेको सीयूभी ई स्कुटरबाट प्रेरित डिजाइनमा हुनेछ ।
यो स्कुटरले इलेक्ट्रीक बजारमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ । भारतीय इलेक्ट्रीक दुईपाँग्रेको बजार बढ्दै गर्दा पछिल्लो समय ओला स्कुटरमा देखिएको समस्याका कारण ग्राहकहरूले ईभी नकारात्मक भइरहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यस्तोमा भारतीय बजारमा सबैभन्दा धेरै बिक्री भएको स्कुटर एक्टिभा इलेक्ट्रीकमा आउँदा यसले सकारात्मक प्रभाव पार्ने देखिन्छ । नेपाली बजारमा समेत एक्टिभा इलेक्ट्रीकलाई चासोका साथ हेरिएको पाइन्छ ।
होण्डा एक्टिभा इलेक्ट्रीकको सार्वजनिक मिति नजिकिँदै गर्दा कम्पनीले विभिन्न जानकारीहरू बाहिर ल्याइरहेको छ । हालै मात्र कम्पनीले बैंग्लोरमा ब्याट्री स्वाप स्टेशन समेत स्थापना गरिसकेको छ । होण्डाले यसमा १.३ किलोवाट क्षमाताको रिमुभएबल ब्याट्री दिएको छ । यसलाई घरमै चार्ज गर्दा ३ घण्टामा ७० प्रतिशत चार्ज हुने कम्पनीले बताएको छ । यसलाई फुलचार्ज गरेर ७० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।
यो स्कुटरमा ६ किलोवाट पिक पावर भएको मोटर दिइएको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।


