काठमाडौं । मास-मार्केट ब्राण्ड होन्डाले नेपाली बजारमा विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले विभिन्न ६ मोडलमा ‘बिग बाइक’ उपलब्ध गराउँदै आएको छ ।
विगत ५० वर्षभन्दा धेरै वर्षदेखि होन्डाका उत्पादन नेपालमा उपलब्ध रहँदै आएका छन् भने त्यतिकै चर्चित पनि छन् । अहिले स्याकार ट्रेडिङले बिग बाइक सेग्मेन्टमा १५० सीसीदेखि ६०० सीसीसम्मका मोटरसाइकल विक्री गरिरहेको छ ।
होन्डाको चर्चित एड्भेन्चर सिरिज सिआरएफ अहिले सोल्ड आउट रहेकाले उपलब्ध ६ मोडलमा समेटिएको छैन । होन्डाले विक्री गर्ने १५० सीसीको एक्सआर १५०एल सबैभन्दा कम मूल्यको बिग बाइक हो । यसको मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा महंगो मोडल सिबीआर ६०० आरआर हो । यसको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, होन्डाको १९० सीसीको मोटरसाइकल एक्सआर १९० एलको मूल्य ६ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ । एक्सआर १९० एल एड्भेन्चर मोडल हो ।
होन्डाले २५० सीसी क्षमताको सीबीआर २५० आरलाई विभिन्न ४ भेरियन्टमा विक्री गर्दै आएको छ । सीबीआर २५० आर एसटीडीको मूल्य ६ लाख ७९ हजार ९०० रुपैयाँ, सीबीआर २५० आर एबीएस सहितको मूल्य ७ लाख ७८ हजार ९०० रुपैयाँ, सीबीआर २५० आर रेप्सोल एसटीडीको मूल्य ७ लाख २३ हजार ९०० रुपैयाँ र सीबीआर २५० आर रेप्सोल एबीएस भसर्नको मूल्य ७ लाख ९२ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसको साथै होन्डाले सिबी ३५० आरएसको मूल्य ७ लाख ९८ हजार ९०० रुपैयाँ र होन्डा सिबी हाइनेस ३५० को मूल्य ७ लाख ७५ हजार ९०० रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ ।

