२०२१ होन्डा साइन एसपीको बुकिङ खुल्ला, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । होन्डाको चर्चित कम्यूटर मोटरसाइकल सिबी साइनको नयाँ मोडल नेपाल आउने भएको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डा सिबी साइन एसपीको २०२१ मोडल नेपाल ल्याउने भएको हो ।

भारतमा अघिल्लो वर्षबाट नै बीएस ६ मोडल उपलब्ध हुँदै आएको भएपनि नेपालमा बीएस ४ मोटरसाइकल विक्री हुँदै आएको छ । स्याकार कम्पनीले ‘२०२१ मा चढौँ २०२१ कै मोडल’ ट्याग्लाइनसहित सिबी साइनको बुकिङ खुल्ला गरेको हो । संम्भवत सिबी साइन बीएस ४ इन्जिनमा उपलब्ध रहने छ ।

कम्पनीले सिबी साइन एसपी दुई भेरियन्टमा नेपाल ल्याउने जानकारी दिएको छ । सिबी साइन एसपी डिआरएस भेरियन्टको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ र सिबी साइन एसपी डिएसएस भेरियन्टको मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

होन्डाको यो चर्चित मोटरसाइकलले भारतमा ९० लाख यूनिट विक्री पुरा गरेर नयाँ इतिहास बनाएको छ भने नेपालमा पनि १२५ सीसी सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकल सिबी साइन हो । नेपाल आएदेखि नै सेग्मेन्ट लिडर रहेको होन्डा सिबी साइनले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।

सिबी साइन एसपीमा १२४.७ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.५६ बीएच पावर प्रदान गर्ने छ भने, ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । स्याकार कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको होन्डा सिबी साइनको सुरुवाती मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top