काठमाडौं । जापानी ब्राण्ड होण्डाले भारतमै इलेक्ट्रीक कार उत्पादन गर्ने भएको छ । कम्पनीले आगामी ६ महिना भित्रै भारतमा उत्पादन भएको विद्युतीय कार सार्वजनिक गर्ने भएको हो ।
सन् २०२६ को मार्चसम्ममा भारतमै उत्पादन भएको विद्युतीय कार बजारमा ल्याउने कम्पनीको दावी छ । होन्डाले चीन, युरोप र अमेरिकी बजारमा बिद्युतीय कार उपलब्ध गराएको भएपनि भारत लगायत सार्क क्षेत्रमा अहिलेसम्म ल्याएको छैन ।
सार्क भित्रका देशमा बिक्री गर्ने योजना सहित होन्डाले स्थानिय कच्चा पदार्थको अधिक प्रयोग गरेर नै नयाँ विद्युतीय गाडी ल्याउने भएको हो ।
कम्पनीले यसअघि नै भारतमा उत्पादन र बिक्री हुँदै आएको मिडसाइज एसयूभी एलिभेटलाई ईभी बनाउने घोषणा गरिसकेको थियो । तर, कम्पनीले ल्याउन लागेको नयाँ कार एलिभेटमा आधारित नभएर विल्कुलै नयाँ मोडल हुने कम्पनीलका प्रेसिडेन्ट तथा सीईओ ताकाशी नाकाजिमाले जानकारी दिएका छन् ।
होन्डाले कुन मोडलको ईभी भारतमा बनाउँदैछ भन्ने जानकारी बाहिर ल्याएको छैन । सम्भवत भारतमा बन्ने होन्डाको पहिलो ईभी ह्याचव्याक हुने अनुमान छ ।
होन्डाले भारतमा इलेक्ट्रीक भेहिकलसँगै ठूलो संख्यामा चार्जिङ स्टेशन समेत स्थापना गर्ने योजना बनाएको छ । कम्पनीले यस्ता चार्जिङ स्टेशनहरु मुख्य हाइवे र ठूला सहरहरुमा केन्द्रित रहेर बनाउने जनाएको छ ।

