काठमाडौं । तपाईं दशैंमा कुनै पेट्रोलियम पदार्थबाट चल्ने कार किन्ने योजना बनाउँदै हुनुहुन्छ ? यदि, कम बजेटमा फ्यामली ह्याचब्याक कार खोज्दै हुनुहुन्छ भने तपाईंले बजारमा थोरै मोडल बीचमा छनोट पाउनु हुन्छ ।
पेट्रोल कारको बिक्री हुन्डाई, टाटा, सुजुकी, महिन्द्रा लगायत ब्राण्डले गरिरहे पनि कम बजेटको कार धेरै ब्राण्डसँग छैन । खासगरी पहिलो कार केन्ने धेरै मानिसले पेट्रोलियम पदार्थबाट चल्ने कार खोज्दै आएको पाइन्छ ।
पेट्रोलियम पदार्थबाट चल्ने कारको पर्फमेन्स प्रमाणित भइसकेको हुन्छ । साथै, राम्रो रिसेल भ्यालु र देशव्यापी उपलब्ध सर्भिस सेवाको कारण धेरै ट्राभल गर्नेहरूको लागि पेट्रोल कार उपयुक्त हुन्छ ।
दशैंको छेउछाउ पारेर तपाईं पनि पेट्रोल कार खोज्दै हुनुहुन्छ भने मारुती सुजुकी, हुन्डाई र टाटा मोटर्सका उत्पादनले तपाईंलाई तान्नेछन् । त्यसैले यहाँ हामीले बजारमा पाइने कम मूल्यका पेट्रोल कारका बारेमा यहाँ चर्चा गरेका छौं ।
टाटा टियागो
अहिले बजारमा किन्न पाइने पेट्रोल कारमा सबैभन्दा कम मूल्यको मोडल टाटा टियागो हो । मूल्यका हिसाबले २५ लाखभन्दा कम २४ लाख ९९ हजार रुपैयाँको टियागोमा बीएस-फोर इन्जिन दिइएको छ ।

सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टियागो बीएस सिक्स इन्जिन भएको किन्ने हो भने २९ लाख ९९ हजार पर्छ । यसको सबैभन्दा माथिल्लो भेरियन्ट एक्सजेडए प्लस किन्दा ३८ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
मारुती सुजुकी अल्टो के१० र सेलेरियो
साना र सस्ता कारमा एकछत्र राज गर्दै आएको मारुती सुजुकी पछिल्लो दिन हाम्रो बजारमा कमजोर पर्दै गएको छ । सीजी मोटोकर्पले बिक्री गर्दै आएको सुजुकी अल्टो के-१० एलएक्सआईको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

सीजी मोटोकर्पले विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको अल्टो के-१० को सबैभन्दा महँगो भीएक्सआई प्लस एजीएस भेरियन्ट हो । यसको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, सुजुकी सिलेरियो पनि कम बजेटमा किन्न पाइने मोडल हो । यसलाई विभिन्न ७ भेरियन्टमा बिक्रीको लागि उपलब्ध गराइएको छ । सेलेरियोको सुरुवाती एलएक्सआई भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ छ । टप भेरियन्ट जेडएक्सआई प्लस एजीएसको ४० लाख ९९ हजार रुपैयाँ पर्छ ।
हुन्डाई ग्राण्ड आई-१०
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने इन्ट्री मोडल नै ग्राण्ड आई-१० नियोस हो । लामो समयदेखि फ्यामली ह्याचव्याक खोज्नेको पहिलो रोजाई बन्दै आएको आई-१० नियोसको सुरुवाती भेरियन्ट इराको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सेकेन्ड ह्याण्ड बजारमा पनि सर्वाधिक सफल र अहिले पनि खरिदकर्ताको पहिलो छनोटमा पर्दै आएको आई-१० विभिन्न ४ भेरियन्टमा उपलब्ध छ । यसको सबैभन्दा महँगो भेरियन्ट आई-१० म्याग्ना अटोमेटीक हो । जसको मूल्य ४० लाख ९६ हजार रुपैयाँ रहेको छ ।
माथि उल्लेख गरिएको मूल्य कम्पनीहरूले तोकेको एमआरपी हो । बजारमा किन्दा केही छुट पाइन्छ । अझ अहिले आउँदै गरेको चाडपर्वलाई लक्षीत गरेर कम्पनीहरूले थुप्रै स्कीम दिइरहेका छन् । जसले अझै सस्तोमा किन्न पाउने छन् ।

