उस्तै मूल्य र स्कीममा पल्सर र साइन, व्याज नलाग्ने स्कीमको फाइदा लिदै ग्राहक

काठमाडौं । बजारमा होन्डा साइन र बजाज पल्सर १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । होन्डा साइन कम्यूटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मध्यको एक मोटरसाइकल हो । तर, बजाजले दुई वर्षअघि पल्सर १२५ बजारमा ल्याएसँगै यी दुई मोडल बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अहिले बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, टीभीएस स्टाइकर, बजाज पल्सर १२५, हिरो सुपर स्प्लेन्डर, यामाहा सलुटो जस्ता मोटरसाइकल विक्री भइरहेका छन् । यी मध्ये बजाज पल्सर १२५ र होन्डा सीबी साइन डीएसएस बीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

होन्डा सीबी साइनमा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा १०.१६ बीएच पावर तथा ५५०० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै बजाज पल्सर १२५मा १२४.४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६५०० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । सीबी साइनमा ४ स्पीडको र पल्सर १२५ मा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

होन्डा सीबी साइनको कुल तौल १२२ केजी रहेको छ । यस्तै यसको लम्बाई २०१२ एमएम, चौडाई ७६२ एमएम, उचाई १०९० एमएम र ह्वीलबेश १२६६ एमएम रहेको छ ।

तर, पल्सर १२५ को कुल तौल १४० केजी रहेको छ । यस्तै यसको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम र ह्वीलबेश १३२० एमएम रहेको छ । यस्तै सीबी साइनको ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ भने पल्सर १२५ को १६५ एमएम रहेको छ ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ । सीबी साइनको रियरमा स्प्रिङ लोडेड हाइड्रोलि सस्पेन्सन रहेको छ भने, पल्सर १२५ मा ट्वीन ग्यास सस्पेन्सन रहेको छ ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । फ्रन्टमा २४० एमएमको डिस्क तथा रियरमा १३० एमएमको समान ड्रम ब्रेक रहेको छ । बजाज पल्सर १२५ मा १७ इन्च ट्यूवलेस टायर रहेको छ भने होन्डा सीबी साइनमा १८ इन्च अलोय ह्वील रहेको छ ।

यी दुबै मोटरसाइकलमा हेलोजीन हेडल्याम्प रहेको छ भने एलइडी टेल ल्याम्प रहेको छ । दुबै मोटरसाइकलमा सेमिडिजिटल कन्सोल रहेको छ । सीबी साइनमा एनालग स्पीडोमिटर रहेको छ भने, पल्सर १२५ मा डिजिटल रहेको छ ।

होन्डा सीबी साइन डिएसआरको मूल्य नेपाली बजारमा २ लाख ४४ हजार ९०० र डिएसएसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ भने बजाज पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

स्कीम

होन्डाले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई १ प्रतिशत व्याजदरमा मोटरसाइकल दिइरहेको छ भने बजाजले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई व्याज तिर्नु नपर्ने स्कीम दिइरहेको छ ।

दशैं स्कीममा बजाजले किन्नुअघि १० हजारसम्म, किन्दा १ लाखसम्म र किनेपछि १० लाखसम्म जित्न सक्ने स्कीम संचालन गरिरहेको छ ।

होन्डाले स्क्र्याचकार्ड मार्फत १ लाखसम्मको नगद छुट, बम्परमा १५ लाखसम्मको उपहार, ७ वटै प्रदेशमा १ लाख जित्ने अवसर, १ रुपैयाँ डाउन पेमेन्ट र १ रुपैयाँ मासिक किस्ता योजना पनि चलाईरहेको छ ।


Back_to_top