पोखरा घुम्न दैनिक २ हजारदेखि भाडामा मोटरसाइकल पाइने

काठमाडौं । चाडपर्व सुरु भएसँगै पर्यटकीय सहर पोखरामा यतिबेला आन्तरिक पर्यटकहरुको घुईचो लागेको छ । घुम्ने प्रयोजनले पोखरा पुगेका आन्तरीक पर्यटकका लागि पोखरामा विभिन्न कम्पनीहरुले मोटरसाइकल तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन् ।

पोखरा आसपासका क्षेत्रहरुमा घुमफिर गर्ने तथा मुस्ताङ यात्रामा जाने ग्राहक लक्षित गरेर विभिन्न कम्पनीहरुले पोखरामा मोटरसाइकल तथा स्कुटर भाडामा दिदै आएको बताए । यसरी भाडामा मोटरसाइकल तथा स्कुट लिन चाहानेसँग अनिवार्य लाइसेन्स हुनु पर्ने कम्पनीहरुको भनाई छ ।

ग्राहकले आफ्नो छनोट तथा आवश्यकता अनुसार २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म प्रति दिन पर्ने स्कुटर तथा मोटरसाइकल भाडामा लिन सकिने छन् । बजाज पल्सर २२०, रोयल इन्फिल्ड क्लासीक ३५०, रोयल इन्फिल्ड हिमालयन, क्रसफायर, होन्डा डिओ, टीभीएस एनटर्क जस्ता मोटरसाइकल तथा स्कुटर ग्राहकले भाडामा लिन पाउने छन् ।

पोखरा लेक साइडमा रहेको पोखरा बाइक एण्ड स्कुटर रेन्टले बजाज पल्सर २२० प्रति दिन २ हजार रुपैयाँ, र बुलेट, हिमालयन र क्रसफायर प्रति दिन ५ हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी लेक साइडमा नै रहेको पोखरा बाइक रेन्टल सभिर्सले स्कुटरहरु प्रति दिन १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँ र मोटरसाइकलहरु २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म लिने गरेको जानकारी दियो । कम्पनीले रोयल इन्फिल्ड तथा क्रसफायर मोटरसाइकलहरुको प्रति दिन ६ हजार रुपैयाँ भाडा लिने जनाएको छ ।

पोखरामा धेरै जसो मोटरसाइकल रेन्टल कम्पनीहरुको भाडादर समान जस्तै रहेको छ । ग्राहकले आफ्रनो आवश्यकता अनुसार १५ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका स्कुटर तथा मोटरसाइक भाडामा लिन सक्छन् ।

दशैं लागेसँगै पोखरमा आन्तरीक पर्यटकको चाप बढ्दो रहेका कारण हाल मोटरसाइकल तथा स्कुटर भाडामा लिनेको संख्या बढेको कम्पनीहरुको भनाई छ ।


Back_to_top