३६ हजार रुपैयाँसम्मले महंगो भयो होन्डाका चर्चित दुई मोटरसाइकल

काठमाडौं । होन्डाका चर्चित मोटरसाइकल एक्सआर १५० एल र १९० एलको मूल्य वृद्धि भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता कम्पनी स्याकार ट्रेडिङ प्रालिले साउन ८ गते प्रकाशित मूल्यसूची अनुसार यी दुई मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

फागुनमा प्रकाशित मूल्य अनुसार एक्सआर १५० एल र १९० एलको मूल्य क्रमश ४ लाख ८४ हजार ९०० र ५ लाख ९४ हजार ९०० रुपैयाँ रहेको थियो । तर, केही दिनअघि प्रकाशित मूल्य अनुसार यी मोटरसाइकलको मूल्य क्रमश ५ लाख २४ हजार ९०० र ६ लाख २४ हजार ९०० रुपैयाँ भएको छ ।

यी दुबै मोटरसाइकलमा क्रमश ३६ हजार र ३० हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाली बजारमा निकै चर्चामा रहेका यी दुबै मोडल माग अनुसार कम्पनीले ग्राहकलाई दिन सकिरहेको छैन ।

होन्डा एक्सआर १५० एलमा १४९.२ सीसी सिंगल सिलिण्डर, फोर स्टोक इन्जिन दिइएको छ भने १९० एलमा १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिण्डर, एसओएचसी इन्जिन दिइएको छ ।

एक्सआर १५० एलमा दिइएको इन्जिनले ७७५० आरपीएममा १२.१४ बीएच पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ भने १९० एलले ८५०० आरपीएममा १५.६ बीएच पावर र ६००० आरपीएममा १५.७ एनएम टर्क प्रदान गर्छ । दुबै बाइकमा ५ स्पीड गियरबक्स रहेको छ ।

एक्सआर १९० एलको लम्बाई २०७५ एमएम, चौडाई ८१२ एमएम र उचाई ११२४ एमएम रहेको छ भने ह्वील वेस १३५१ एमएम रहेको छ ।

एक्सआर १५० एलको लम्बाई २१००, चौडाई ८२० र उचाई ११२६ एमएम रहेको छ । यसमा १३६० एमएमको ह्वीलवेस दिइएको छ । दुबै बाइकमा समान २४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको रहेको छ । दुबै मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्याङ्की दिइएको छ ।

कम्पनीले एक्सआर १९० एलको अगाडि चक्कामा २४० एमएमको पिष्टन क्यालिपर हाइड्रोलिक डिस्क र पछाडि चक्कामा ११० एमएम ल्यान्डिङ ड्रम ब्रेक दिएको छ ।

१५० एलको अगाडि चक्कामा २४० एमएमको डियुल पिष्टन क्यालिपर डिस्क र पछाडि मेकानिकल ड्रम ब्रेक दिइएको छ ।

अफरोडमा आरामदायी यात्राको लागि कम्पनीले एक्सआर १९० एलको अगाडि २४० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५१ एमएमको एक्स्ले ट्राभल मोनोसक सस्पेन्सन दिएको छ ।

एक्सआर १५० एलको अगाडि १८० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५० एमएमको स्वीङ आर्म मोनोसक सस्पेन्सन दिएको छ ।


Back_to_top