एउटै मूल्य र फिचर भएका दुई डबल स्पोर्टस् मोटरसाइकल

काठमाडौं । यामाहा र होन्डा अन्तर्राष्ट्रिय बजारमा ठूला मोटरसाइकलमा एक अर्काका प्रतिस्पर्धी हुन् । दुबै कम्पनी जापानी भएकाले पनि यी दुबै टेक्नोलोजीमा अब्बल मानिन्छ ।

यामाहा विश्वभर मोटरसाइकल उत्पादनको लागि परिचित कम्पनी हो भने होन्डा कार र मोटरसाइकल उत्पादनमा बलियो पकड बनाउन सफल कम्पनी हो । विशेषत भारतमा यी दुई कम्पनीले उत्पादन गर्ने मोटरसाइकल र स्कुटर मूल्य केन्द्रित रहेका छन् ।

तुलनात्मक हिसावले हेर्ने हो भने अन्य भारतीय कम्पनीको तुलनामा यी कम्पनीले गर्ने उत्पादन केही महंगो मूल्य हुने गरेको छ । नेपालमा यी दुबै कम्पनीले उत्पादन गरेका मोटरसाइकल नौलो होइनन् । स्याकार ट्रेडिङले ५५ वर्षदेखि नेपालमा होन्डाका मोटरसाइकल विक्री गर्दै आएको छ भने, यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ४६ वर्षदेखि यामाहाका उत्पादन नेपालमा विक्री गर्दै आएको छ ।

नेपालमा लामो इतिहास बोकेका यी दुई ब्राण्डले १५० सीसी सेग्मेन्टमा विक्री गर्दै आएको डबल स्पोर्ट मोटरसाइकल होन्डा एक्सआर १५० एल र यामाहा एक्सटीजेड १५० धेरै कुरामा समान देखिएका छन् । यी दुबै मोडलको मूल्य समान ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । यी दुबै मोटरसाइकल भारतमा उत्पादन भएका होइनन् ।

यामाहा एक्सटीजेड १५० मा १४९ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७ हजार ५०० आरपीएममा १२.५ पीएस पावर र ६ हजार आरपीएममा १३.१ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

त्यस्तै, होन्डाको एक्सआर १५० एलमा फोर स्ट्रोक, एसओएचसी, एयरकुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ७७५० आरपीएममा १२.१४ पीएस पावरका साथै ६००० आरपीएममा १२.५ एनएम टर्क उत्पादन गर्छ ।

एड्भेन्चर मोटरसाइकल भएकोले यसको तौलले धेरै महत्व राख्छ । होन्डा एक्सआरको तौल १२९ किलोग्राम छ भने एक्सटीजेडको तौल १३१ किलोग्राम रहेको छ । दुबै मोटरसाइकलमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर प्रयोग भएको छ ।

अर्को रोचक कुरा के छ भने दुबै मोटरसाइकलमा अगाडि २४० एमएमको डबल पिस्टन क्यालीपर डिस्क ब्रेक दिइएको छ भने रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । दुबै मोटरसाइकलमा स्पोक ह्वील दिइएको छ ।

साइजमा भने यी दुई मोटरसाइकलमा केही भिन्नता पाउन सकिन्छ । होन्डा एक्सआर १५० एलको लम्बाई २०९१ एमएम, चौडाई ८११ एमएम र उचाई ११२६ एमएम रहेको छ । २४३ एमएमको ग्राउन्ड क्लियरेन्स र १३६० एमएमको ह्वीलवेस उपलब्ध छ ।

यामाहा एक्सटीजेड १५०को लम्बाई २०५० एमएम , चौडाई ८३० एमएम र उचाई ११४० एमएम रहेको छ । २३५ एमएमको ग्राउन्ड क्लियरेन्स र १३५० एमएमको ह्वीलवेस रहेको छ ।

दुबै मोटरसाइकलमा समान १२ लिटर क्षमताको इन्धन ट्यांकी र अगाडि टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म सस्पेन्सन लगाइएको छ ।

होन्डा एक्सआर १५० मा नयाँ फोर बोल्ट माउन्टिङ सिस्टम लगाइएको छ भने, स्मुथ फोर स्ट्रोक पावर, डिजिटल स्पीडोमिटर, स्प्रिङ्ग प्लास्टिक फेन्डर चेन्सलर, आकर्षक हेडलाइट लगाइएको छ ।

यामाहा एक्सटीजेड १५० मा एनालग स्पीडोमिटर र ओडोमिटर लगाइएको छ । फराकिलो सिट, टर्न इन्डीकेटर, हेलोजन हेडल्याम्प, आकर्षक टेलल्याम्प जस्ता फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top