नेपालमा विक्री हुने १५० सीसीका दुई डबल स्पाेर्टस मोटरसाइकल, कुनमा कस्तो विशेषता ?

काठमाडौं । यामाहा र होन्डाले १५० सीसी सेग्मेन्टमा डबल स्पाेर्टस मोटरसाइकल विक्री गर्दै आएका छन् । होन्डाको एक्सआर १५० एल निकै पहिलादेखि विक्री हुँदै आएको हो भने, यामाहा एक्सटीजेड १५० केही दिनअघिबाट विक्री सुरु भएको हो ।

यामाहाले केही दिनअघिबाट विक्री सुरु गरेको एक्स्टीजेड १५० को सिधा प्रतिस्पर्धा होन्डा एक्सआर १५० एलसँग हुनेछ । यी दुबै मोटरसाइकल डबल पर्पोज सेग्मेन्टमा पर्छन । यी दुबै मोटरसाइकल अनरोड तथा अफरोड सुहाउँदो मानिन्छ ।

यी दुबै मोटरसाइकलको बनोट, पावर र मूल्यमा समानता पाउन सकिन्छ । यस्तोमा यी दुई बीच रहेका तुलनात्मक भिन्नता यहाँ केलाउने प्रयास गरिएको छ ।

इन्जिन

यामाहा एक्सटीजेड १५० मा १४९ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७ हजार ५०० आरपीएममा १२.५ पीएस पावर र ६ हजार आरपीएममा १३.१ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

त्यस्तै, होन्डाको एक्सआर १५० एलमा फोर स्ट्रोक, एसओएचसी, एयरकुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ७ हजार ७५० आरपीएममा १२.१४ पीएस पावरका साथै ६ हजार आरपीएममा १२.५ एनएम टर्क उत्पादन गर्छ ।

तौल र टायर

१२९ किलोग्रामको एक्सआर १५० को फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको टायर लगाइएको छ । यसको फ्रन्टमा २४० एमएमको डबल पिस्टन क्यालीपर डिस्क ब्रेक दिइएको छ भने रियरमा ड्रम ब्रेक रहेको छ ।

यामाहा एक्सटीजेड १५० को रियरमा १७ र फ्रन्टमा १९ इन्चको टायर लगाइएको छ । यस्तै, फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रियरमा ड्रम ब्रेक रहेको छ । यो बाइकको तौल १३१ किलोग्राम रहेको छ । दुबै मोटरसाइकलमा रिम ह्वील दिइएको छ ।

डाइमेन्सन

होन्डा एक्सआर १५० एलको लम्बाई २०९१ एमएम, चौडाई ८११ एमएम र उचाई ११२६ एमएम रहेको छ । २४३ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो बाइकमा १३६० एमएमको ह्वीलवेस दिइएको छ । यसमा १२ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।

यामाहा एक्सटीजेड १५०को लम्बाई २०५० एमएम , चौडाई ८३० एमएम र उचाई ११४० एमएम रहेको छ । २३५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यस बाइकमा समान १२ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

सस्पेन्सन

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म सस्पेन्सन लगाइएको छ ।

अन्य विशेषता

होन्डा एक्सआर १५० मा नयाँ फोर बोल्ट माउन्टिङ सिस्टम लगाइएको छ भने, स्मुथ फोर स्ट्रोक पावर, डिजिटल स्पीडोमिटर, स्प्रिङ्ग प्लास्टिक फेन्डर चेन्सलर, आकर्षक हेडलाइट लगाइएको छ ।

यामाहा एक्सटीजेड १५० मा एनालग स्पीडोमिटर र ओडोमिटर लगाइएको छ । फराकिलो सिट, टर्न इन्डीकेटर, हेलोजन हेडल्याम्प, आकर्षक टेलल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

मूल्य

नेपाली बजारमा यामाहाको एक्सटीजेड १५० को मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ भने, होन्डा एक्सआर १५० को मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । यी दुई मोटरसाइकलको मूल्यमा मात्र १० हजार रुपैयाँको फरक पाउन सकिन्छ ।


Back_to_top